बुटवल, असार १३ । रूपन्देहीमा पनि सलह जस्तै देखिने फट्याङ्ग्रा किरा शनिवार देखिएको छ । बुटवलको गोलपार्क, रामनगर र तिलोत्तमाको शंकरनगर, देवदहको शितलनगर क्षेत्रमा लाखौंको संख्यामा फट्याङ्ग्रा देखिएपछि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश पाँचले भैरहवा हुँदै नेपाल प्रवेश गरेको बताएको छ । बुटवलको आकाशमा पनि फट्याङ्ग्रा उडेको छ ।
फट्याङ्ग्रा सलह हुन सक्ने आशंका छ । मन्त्रालका प्रवक्ता विनोद घिमिरेले बालीनालीमा किरा देखिएपछि त्यसको अनुसन्धानमा जुटेको बताए । शनिवार बिहान प्रदेश दुईका केही जिल्लामा भारतबाट प्रवेश गरेको बताइएको छ । यो फट्याङग्राले सम्पूर्ण कृषि वालीको बोटविरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने गर्छ ।
उनले भने, ‘बुटवल, तिलोत्तमा क्षेत्रमा यो लाखौंको संख्यामा देखिएको छ । यो कुन प्रजातिको हो, बढी नोक्सान गर्ने खालको हो कि होइन ? त्यसवारे अनुसन्धानका लागि वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारी, कृषि विकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटा र समूहमा बसेको फटयारोको खोजीमा जुटेका छौं,’ उनले थपे, ‘उच्च अदालत परिषरमा फट्याङ्ग्रा बसेको भन्ने छ हामी त्यहाँ जाँदै छौं ।’
प्रदेश पाँच कृषि विकास निर्देशनालयका प्रमुख यमनारायण देवकोटाले फट्याङ्ग्रा सलह नै भएको दावी गरे । ‘भारतबाट छिरेको हो । बुटवल तथा यसआसपासको क्षेत्रमा अहिले देखिको फट्याङगा सलह नै हो ।’ केही समय अगाडि सलह पाकिस्तान हुँदै भारत प्रवेश गरेको थियो । सोही समयमा नेपाल प्रवेश गरे कृषि क्षेत्रमा ठूलो नोक्सान पुर्याउने सक्ने आकलन गरिएको थियो । तर, सरकारले नेपालमा सलह आउन सक्ने सम्भावना टरेको बताएको थियो ।