काठमाडौं, असार २२ । नेपालमा सोमबार १ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ हजार ९६४ पुगेको छ ।
सोमवार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइराखेको छ । सोमवार २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ । सोमवार २ सय ६४ जना निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म छ हजार ८ सय ११ जना संक्रमित डिस्चार्ज भएका छन् । रेड जोनमा ५१९ परेका छन् । सोमवार जनकपुरमा एकजना रेड जोनमा थपिएका छन ।
नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बाग्लुङका २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । बाग्लुङको मुसिखोला ३ का २९ वर्षीय ती पुरुषको २१ गते क्वारेन्टिनमा मृत्यु भएको हो । भारतबाट क्षयरोगको उपचार गराएर फर्किएका उनको ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । योसँगै नेपालमा कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ ।