काठमाडौं, असार २३ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ हजार नाघेको छ । मंगलवार थप दुई सय चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न २५ वटा प्रयोगशालामा भएको परीक्षणमा दुई सय चार जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कुल संख्या १६ हजार एक सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
मंगलवार सबैभन्दा बढी बाजुरामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अछाम र बैतडीका ११/११, महोत्तरीका ९, धनुषा र अर्घाखाँचीका ८/८, डोटीका ७, मोरङ र डडेल्धुराका ६/६, सल्यान, रुकुम पश्चिम र नवलपसारीका ५/५, सप्तरी, सुनसरी, दाङ, सुर्खेत र गोरखाका ३/३, तनहुँ, पाल्पा र बर्दियाका २/२, झापा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, सप्तरी, रुकुम पूर्व, बागलुङ र कपिलवस्तुका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै मंगलवार ६ सय ८८ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । यीसहित ७ हजार ४ सय ९९ निको भइ घर फर्किएका छन् । हालसम्म ४६ प्रतिशत निको भइ घर फर्किएको मन्त्रालयले जनाएको छ । मंगलवार ६ हजार १ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै हालसम्म २ लाख ६१ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण भएको छ ।