मुलुक लोकतान्त्रिक गणतन्त्र भएको पनि झण्डै डेढ दशक भएको छ । यसबीचमा धेरै खालका राजनीतिक परिवर्तनहरु भएका छन् । जनताका प्रतिनिधिहरुसहितका तीन तहका सरकार स्थापना भएका छन् । सरकारी कार्यालयलाई सेवाकेन्द्रका रुपमा विकास गर्ने जनप्रतिनिधिका प्रतिबद्धता पनि आएका छन् । तर, नागरिका लागि गुणस्तरीय सेवा प्रवाह अझै हुन सकेको छैन । खासमा कर्मचारी तन्त्रमा सुधार आउन नसकेका कारणले सेवाग्राहीले अहिले पनि अनेक नाममा झन्झट र सास्ती खेप्नु परेको छ ।
नागरिकका लागि गुणस्तरीय सेवा प्रवाह तथा संरचना सुविधाका लागि भौतिक सम्पत्ति तथा पूर्वाधारको निर्माण र सम्भार, व्यवस्थापकीय अभ्यास तथा नीति रणनीति र परियोजनाको योगलाई सार्वजनिक कार्य मानिन्छ । जबसम्म सार्वजनिक कार्यबाट नागरिक विस्वस्त हुन सक्तैनन्, तबसम्म राजनीतिक परिवर्तनको कुनै अनुभूति हुन सक्तैन । सार्वजनिक कार्य मूलतः देशको समृद्धि र जनताको सेवा केन्द्रित हुनेभएकाले यसलाई जनप्रतिनिधिले प्रतिबद्धता गरेअनुरुपको सेवाकेन्द्रका रुपमा विकास गर्नुपर्नेछ ।
विश्वका कैयन देशमा सार्वजनिक कामको सार्वजनिक परीक्षण हुने गर्छन् र त्यहाँका सेवाग्राहीको सन्तुष्टिका आधारमा कर्मचारीको मूल्यांकन हुने गर्दछ । हामीकहाँ सरकार र सरकारी निकायको काम गराइका सम्बन्धमा सर्वसाधारणले गुनासा मात्रै गर्न सक्छन् तर, उनीहरुको सन्तुष्टिका आधारमा कर्मचारीको अवस्था तलमाथि पर्दैन । विभिन्न चोक, चियापसल देखि सार्वजनिक स्थलमा गरिने मौखिक, लिखित, अनलाइन तथा सामाजिक सञ्जालमार्फत आउने गुनासालाई सम्बोधन गर्दै सेवाप्रवाह सञ्चालन गर्न आवश्यक छ ।
वर्तमान सरकारले केही नौला कामको अनुभूति गराउने कोसिस गरिरहेको छ । कतिपय महत्वपूर्ण काम पनि गरिरहेको छ । नेपाल सरकारले सञ्चालन गरेको ‘हेलो सरकार’ कार्यक्रमका माध्यमबाट जनगुनासाहरु लिने गरिएका पनि छन् । तर, तिनका आधारमा कर्मचारीको मूल्यांकन हुँदैन । कामका आधारमा पुरस्कार दण्डको व्यवस्था नगरिकन कर्मचारी संयन्त्रमा सुधार आउन सक्तैन ।
नागरिकबाट सार्वजनिक कार्यको मूल्यांकनबाट धेरै लाभ हुने गरेको पाइन्छ । बेथितिहरुको अन्त्य गर्न र कामलाई गुणस्तरीय बनाउन पनि नागरिक स्तरबाट निगरानीसहितको मूल्यांकनको खाँचो छ । यसरी गरिने मूल्यांकनलाई राजनीतिक पूर्वाग्रहका आधारमा गर्न भने पाइँदैन ।
हामीकहाँ नागरिक समाज पनि राजनीतिक रुपमा विभक्त छ । अधिकारकर्मी पनि राजनीतिक दाउपेचमा सञ्चालित हुने गर्छन । कर्मचारी संयन्त्र पनि सत्तामा पुग्ने दलको निकटको भनेर आफ्ना सबै कर्तूतहरु लुकाउन खोज्छ । सबैका आ–आफ्नै स्वार्थका कारणले आम सर्वसाधारणले सेवाप्रवाहबाट सन्तुष्टि पाउन सकिरहेका छैनन् । सम्बन्धित अधिकारीलाई गुनासा गर्ने ठाउँसम्म पनि पुग्न नपाउने कैयन नागरिक छन्, यसलाई सुधारौं ।