काठमाडौं, असार ३० । नेपालमा मंगलवार थप ११६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका २५ वटा प्रयाेगशालामा गरिएकाे परीक्षणमा थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा संक्रमितको कूल संख्या १७ हजार ६१ पुगेको छ ।
उनले हालसम्म सक्रिय संक्रमित ६ हजार ६९५ रहेको जानकारी दिए । मंगलवार ३४ जना डिस्चार्ज भएका छन् । योसँगै संक्रमण निको हुनेको कूल संख्या १० हजार ३२८ पुगेको छ । यो संख्या नेपालको कूल संक्रमितको आधारमा ६०.५३ प्रतिशत हो । प्रवक्ता गौतमले क्वारेन्टाइनमा बस्नेको संख्या २४ हजार ७१६ र आइसोलेसनमा ६ हजार ६९५ जना उपचाररत रहेको बताए ।
जिल्लागत तथ्यांक अनुसार संक्रमित हुनेमा धनकुटाका ३, सिरहाका १, सुनसरीका १, तेह्रथुमका १, इलामका २, झापाका १, धनुषाका २१, महोत्तरीका १९, पर्साका २, गोरखाका २, नुवाकोटका १, काठमाडौंका २, नवलपरासी पूर्वका २, रौटहटका १, सिन्धुलीका १, काभ्रेपलान्चोकका २, ओखलढुंगाका १, कैलालीका १, पाल्पाका ५ , सिन्धुपाल्चोकका १, सुर्खेतका १, प्युठानका ३, बाँकेका १, रोल्पाका ३, बर्दियाका १, दाङका ५, अर्घाखाँचीका ३, दैलेखका ६, अछामका १४, जुम्लाका ४, कञ्चनपुरका १ र कैलालीका ४ जना रहेका छन् ।
मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर विधिबाट हालसम्म २ लाख ९३ हजार ७३९ जनाको परीक्षण गरिएको छ ।