टोपलाल अर्याल
गुल्मी, असार ३१ । गुल्मीको धुर्कोटमा झोलुङ्गे पुलले दुई गाउँ जोडेपछि स्थानीय खुसी भएका छन् । भर्खरै सम्पन्न भएको पुुलले वडा नं ५ वस्तुस्थित रानाचौर र ठाकुरडाँडा जोडेको छ । पुल ०७६ पुस महिनाबाट निर्माण थालिएको थियो । पाँच महिनामा पुल निर्माणको काम सम्पन्न भएको हो । पुलको सोमबार धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले उद्घाटन गरे । पुल निर्माण भएसँगै धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक र ५ वस्तुका नागरिकलाई आवत–जावतमा सजिलो भएको छ । विद्यार्थीहरुलाई विद्यालय जान तथा स्थानीय नागरिकहरुलाई घाँस–दाउरादेखि अन्य दैनिक कार्यमा समेत पुलले सहजता ल्याएको छ ।
घाँसदाउरादेखि विद्यार्थीलाई सहज
स्थानीय उषा पोखरेलले पुल बनेसँगै घाँस दाउरा गर्न र विभिन्न कामले वस्तुको बजारसम्म पुग्न सहज भएको प्रतिक्रिया दिइन् । पहिले–पहिले बालबच्चाहरु विद्यालय पठाउँदा खोला र जङ्गली जनावरहरुको डर हुने गरेको पोख्रेलले स्मरण गरिन् । स्थानीय बालकल्याण प्राथमिक विद्यालयकी प्रध्यानाध्यापक बिमला भण्डारीले पनि पुल निर्माण भएसँगै विद्यार्थीहरुलाई बिद्यालय आउजाउमा सहजता मिलेको भन्दै खुसी प्रकट गरिन् । पुल निर्माण भएपछि जैसिथोक र वस्तुका कूल दुई सय ११ घरधुरीका एक हजार दुई ६६ जना प्रत्यक्ष लाभान्वित भएका छन् ।
झोलुङ्गे पुल कूल ३७ लाख ५५ हजार आठ सय १५ रुपैँया ८६ पैसाको लागतमा निर्माण भएको छ । संघीय सरकार, धुर्कोट गाउँपालिका र समुदायको साझेदारीमा पुल निर्माण गरिएको सेवक नेपाल प्रदेश ५, नेपालगञ्जका प्राविधिक दयन्द्र राईले जानकारी दिए । हेल्वेटास टिबीएसयु÷सेवक नेपालको प्रदेश स्तरिय प्राविधिक सहयोग, गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग, सिर्जनशिल सामुदायिक विकास केन्द्रको जिल्ला स्तरिय प्राविधिक तथा सामुदायिक सहयोगमा झेलुङ्गे पुल निर्माण गरिएको राइले बताए ।
साहसिक खेल संचालन
पुलको एक सय दुई मिटर लम्बाइ, एक सय छ सेन्टिमिटर चौडाइ र ३६ मिटर उचाइ रहेको छ । पुलको उचाइ धेरै भएकोले यसलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना गाउँपालिकाको छ । पुलको तलपट्टिको खोलामा ड्याम निर्माण गर्ने र पुलबाट विभिन्न साहसिक खेलहरु संचालन गर्ने गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए ।
त्यसको लागि गाउँपालिकाले लागत अनुमानसहितको इस्टिमेट गर्ने तथा प्रदेश सरकारले आवश्यक पूर्वाधार निर्माण गरिदिने पोखरेलले बताए । सिर्जनशील सामुदायिक विकास केन्द्रका प्रतिनिधि नरेश भण्डारीले पनि पुल बनेको स्थानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सके स्थानीयलाई यात्रा मात्रै नभएर अर्थोपार्जनमा समेत सहयोग पुग्ने बताए ।