टोपलाल अर्याल
गुल्मी, असार ३१ । इस्मा गाउँपालिका समाज जापानले पहिरो पीडित परिवार करिब साढे चार लाख सहयोग गरेको छ । इस्मा गाउँपालिका वडा नं १ र ४ का ७० घर परिवारलाई समाजले नगदसहयोग गरेको हो । पहिरोको कारण मृत्यु, घाइते र विस्थापित भएका परिवारलाई सहयोग गरिएको इस्मा गाउँपालिका समाज जापानका सदस्य नारायण खनालले जानकारी दिए ।
समाजले तीन वर्गमा राहत वितरणको योजना बनाएको थियो । ‘क’ वर्गमा मृतक र घाइते परिवार, ‘ख’ वर्गमा घरगोठ र चौपाय क्षति भएका परिवार र ‘ग’ वर्गमा अति जोखिममा परेका परिवार रहेका छन् । खनालका अनुसार समाजले दुई वडा वडाको लागि चार लाख ३७ हजार तीन सय ९५ रुपैयाँ सहयोग संकलन गरेर पठाएको थियो । इस्मा गाउँपालिकाका वडा नं ४ का ‘क’ वर्गका परिवार छैनन् । ‘ख’ वर्गका ६ र ‘ग’ बर्षका १२ जना रहेको समाजकी सदस्य संगीता कुँवरले जानकारी दिइन् ।
त्यस्तै वडा नं १ मा ‘क’ वर्गका तीन, ‘ख’ वर्गका १९ र ‘ग’ वर्गका ३० जनाले राहत पाउने छन् । समाजले ‘क’ वर्गलाई १५ हजार, ‘ख’ वर्गलाई सात हजार र ‘ग’ वर्गलाई ३५ सयका दरले नगद सहयोग गरेको कुँवरले बताइन् । इस्मा गाउँपालिका समाज जापानका संयोजक रामचन्द्र कुँवरले आफूहरुको अभियानमा स्वतस्र्फूत सहयोग पुराउने सबैलाई धन्यवाद दिए । यो अभियानमा ८७ जनाले एक हजारदेखि २० हजारसम्म सहयोग गरेको जानकारी दिए । इस्मा गाउँपालिका समाजले राहत वितरणको लागि वडा नं १ मा वडाध्यक्ष चुराबहादुर खत्री र वडा नं ४ मा वडाध्यक्ष गनुप्रसाद अधिकारीको संयोजकत्वमा सहयोग हस्तान्तरण समिति निर्माण गरेको थियो ।
इस्मा गाउँपालिका ४ का पहिरो पीडितलाई गाउँपालिका प्रमुख लक्ष्मण विष्ट र वडा नं १ का पहिरो पीडित परिवारलाई वडाध्यक्ष चुराबहादुर खत्री आर्थिक सहयोग प्रदान गरेका थिए । पीडित परिवारलाई सहयोग प्रदान गर्दै गाउँपालिका प्रमुख बिष्टले परदेशमा आफ्नो गास कटाएर गाउँको विपद्मा सहयोग पुराउने इस्मा गाउँपालिका समाज जापानलाई धन्यवाद दिए । उनले पहिरोबाट विस्थापित परिवारको राहत, सहयोग र पुर्नस्थापनाको विषयमा गम्भीर ढंगले अघि बढेकाले धैर्यतामार्फत विपद्को सामना गर्नुको विकल्प नभएको बताए । ‘क्षणिक सहयोग र याचनाले पहिरो पीडितको न्याय हुँदैन,’उनले भने,‘केहीबेरको भावना दीर्घकालीन योजना बन्दैन ।’ त्यस्तै वडाध्यक्ष गनुप्रसाद अधिकारीले तत्काल अस्थायी आवास निर्माण गरेर बिस्थापित परिवारको व्यावस्थापन गरिएको बताए । उनले गाउँपालिकामार्फत राहत प्रदान गरिएको र भूगोल र वर्षात्ले अति जोखिममा परेका घर परिवारलाई अस्थायी आवासमा ल्याउने काम भइरहेको जानकारी दिए ।
वडा नं १ मा पहिरोले मानवीय क्षतिसहित ठूलो भौतिक क्षति पुराएको छ । अहिले पनि क्षतिको यथेष्ट विवरण संकलनको काम भएकाले तीन वटै सरकार र संघ संस्थाहरुको समन्वयमा उद्धार, राहत र पुनस्र्थापनाको काम अघि बढेको बताए । उनले अझै पनि बिच्छेद भएका सबै स्थानमा खानेपानी खडक र विद्युत्को पहुँच पुराउन नसकिएकाले गाह्रो र अप्ठ्यारोलाई समाधान गर्न आफू लागि परेको बताए । ‘विपद्मा कोही व्यक्ति र दलले राजनीति गरे त्यसको मूल्यांकलन जनताले गर्छन,’उनले भने,‘परिस्थतिीको सामना सबै मिलेर सम्भव छ ।’ नेपाल रेडक्रस सोसाइटी गुल्मीका मन्त्री लालबहादुर कुँवरले प्रवासबाट पठाएको सहयोग रकमको सदुपयोग गर्न सबैलाई आग्रह गरे ।