काठमाडौं, साउन ७ । नेपालमा बुधबार थप एकसय जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित लाइभ अपडेटमा जानकारी दिए ।
बुधवार ३ हजार ७७९ जनाको परीक्षण गर्दा एक सय जनामा कोरोना पुष्टि भएको डा.गौतमले बताए । मन्त्रालयका अनुसार अहिले ५ हजार ३७० जना सक्रिय संक्रमित रहेका छन् । बुधवार थप २ सय ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १२ हजार ६८४ पुगेको छ ।
डा. गौतमका अनुसार बुधवार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका ४ जना, कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, ताप्लेजुङका ३ जना, जगेन्द्र नारायणसिंह अस्पताल राजविराजमा सप्तरीका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ५ जना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका ३ जना र पर्साका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, सर्लाहीका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका एकजना, वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा सर्लाहीका एकजनामा संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा लमजुङका ७ जना, स्याङ्जाका ३ जना र बाग्लुङका ३ जना, भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ३ जना, बर्दियाका २ जना र सल्यानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका ६ जना, दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १६ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बझाङका एकजना र डोटीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणबाट थप २ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृत्यु हुनेमा धनुषाका १ पुरुष र ४९ वर्षीया चिनियाँ महिला रहेकी छिन् । उनी पोखरामा बस्थिन् । मन्त्रालयका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई मणिपाल अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई साउन २ गते ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । कोभिड पुष्टि भएपछि उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा साउन ७ गते निधन भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
त्यसैगरी धनुषाको जनकपुर उपमहानगरपालिकामा बस्ने ६० वर्षीय पुरुष खोकी, ज्वरोलगायत समस्या लिएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । उनको भेन्टिलेटरमा उपचारका क्रममा साउन ६ गते मृत्यु भएको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता डा.गौतमले जानकारी दिए । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।