काठमाडौं, साउन ८ । नेपालमा विहीबार थप १ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार २४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहिबारको नियमित लाइभ अपडेटमा जानकारी दिए । विहीबार ३ हजार ४८१ जनाको कोरोना परीक्षण गरिएकोमा १४७ जनामा कोरोना पोजेटिभ देखिएको हो । डा. गौतमका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ । विहीबार १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ८४० पुगेको छ । हालसम्म संक्रमणमुक्त हुनेको प्रतिशत ७० दशमलब ३९ रहेको छ ।
डा. गौतमका अनुसार विहीबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटाका २ जना, सुनसरीका २ जना, कोशी अस्पताल विराटनगरमा मोरङका ४ जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना र मोरङका ४ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका २ जना र सप्तरीका ७ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका १७ जना संक्रमित भएका छन् । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एकजना र काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महोत्तरीका एकजना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा पर्वतका एकजना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, स्याङ्जाका एकजना र पर्वतका २ जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका ११ जना, प्युठानका २ जना र नवलपरासीका एकजना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रुपन्देहीका २ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका ५ जना, सल्यानका एकजनामा संक्रमण पुष्टि भएको छ । यस्तै दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका २४ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराका २ जना र डोटीका ७ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका २ जना, बझाङका एकजना र कंचनपुरका ३० जनामा कोरोना पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या ४३ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एडभान्स अस्पतालमा भर्ना भएका उनीमा श्वासप्रश्वासको समस्या थियो । सोमबार नै उनलाई शंकास्पद कोरोना संक्रमितको रुपमा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो एक बजेतिर गण्डकमा भर्ना भएका उनको मंगलबार अपरान्ह मृत्यु भएको गण्डक कोभिड अस्पतालले जनाएको छ । मृत्युपछि उनको स्वाब संकलन गरिएको थियो । नारायणी अस्पतालको पीसीआर ल्याबमा जाँच गर्दा बुधबार कोरोना पोजिटिभ देखिएको थियो । मृतकमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको अस्पतालको भनाइ छ ।