बन्दना पोखरेल
रामपुर, साउन ११ । बन पर्यटनको रुपमा निस्दी अगाडि बढिरहेको छ । बिगतमा गाई चरानको रुपमा मात्र प्रयोगमा आउने निस्दी गाउँपालिका वडा नम्बर–६, अर्चलेको लेकडाँडा अहिले भने कबुलियती वन र घुमाउरो घर निर्माणले स्वरुप फेरिदै गएको छ । गएको वर्ष देखि कबुलियती वनको रुपमा बिस्तार भएको लेकडाँडा यस पटक भने ३ वटा घुमाउरो घर निर्माण भएपछि यसको महत्व बढेर गएको छ ।
कबुलियती वनबाट समूहका सदस्यहरुलाई आर्थिक लाभ होस् भन्ने उद्देश्यबाट शुरु भएको यस ठाउँमा पर्यटकीय स्थलको रूपमा समेत सम्भावना रहेको निस्दी गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष मेख बहादुर सुनारीले बताए । उनले थपे, ‘यो वर्ष सांसद बिकास कोषबाट १० लाख रुपैयाँको लागतमा ३ वटा घुमाउरो घर, एउटा पोखरी र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ वटा पोखरी गरि कुल ३ वटा पोखरी निर्माणकार्य सम्पन्न भएको छ ।’ यातायातको सुबिधा होस् भन्ने उद्देश्यले गत वर्ष अपुरो भएको मोटरबाटो निर्माणकार्यका लागि यस वर्ष १० लाख रुपैयाँ गाउँपालिकाबाट विनियोजित गरेको सुनारिले बताए ।
निस्दी–६, अर्चलेका सात्दोबाट, नारीभङ्ज्याङ, अधमारा र धोबलाका गरि जम्मा १५ वटा समूहलाई यो वर्ष प्रति समूह १ हजार ५ सय टिमूरको बिरुवा र ९ सयका दरले कागतीको बिरुवा रोपणका लागि वितरण गरिएको लेकडाँडा कृषि पशु वन व्यावसायिक उत्पादन समितिका अध्यक्ष कृष्ण बहादुर सुनारीले जानकारी दिए । गत वर्ष समूहले अम्रीसो, टिमुर, दालचीनी र ओखर लगाएको थियो भने यो वर्ष कागती र टिमुर लगाएको छ । यसैगरी लेकडाँडाको पश्चिमी भागमा यसै वर्ष देखि नै वडा नम्बर–७,ज्यामिरेको चारघरे, हुबास र दार्सिङ्गबासले समेत कबुलियती वन समूह गठन गरि दालचीनी, अमृसो लगायतका बिरुवाहरु रोपेका छन् ।
यस वर्ष विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण लकडाउनको बेलामा समेत स्थानीयबासी यसको अबलोकन गर्न दैनिक जसो गएका थिए । अर्चले वडा कार्यालयबाट पश्चिमी भाग तिर पर्ने लेक डाँडा पुगेर रमाइलो मान्दै आनन्द लिन सकिने त्यहाँका स्थानीय बताउँछन् । डाँडाको माथिल्लो भागमा समथर चौर र चौरको छेवैमा सत्यवती बज्यैको थान रहेको छ । धेरै वर्ष पहिले सत्यवती बज्यै यसै ठाउँमा रहेको र बज्यै बस्न अनुकुल नभए पछि ठाउँ परिवर्तन गरेको त्यहाँका स्थानीय बुढापाकाले बताउँछन् ।
केही वर्ष देखि प्रत्येक साल कार्तिक पूर्णिमामा पूजा अनि मेला लाग्न रोकिए पनि अहिले पनि उक्त समयमा पूजा आज भने हुने गरेको समेत बताउँछन् । गोलोघर र पोखरी निर्माण स्थलबाट सफा मौसम भएको बेला दक्षिणी भागमा रहेको तराईको समथर भुभाग,नारायणी नदी र उत्तरी भुभाग बाट हिमाली शृङ्खलाहरु सहजै देख्न सकिन्छ ।
निस्दीमा अहिले ६४ वटा कवुलियति बन रहेका जसमा कुनै ज्यामिरेको कबुलिएति बनले केरा बाट राम्रो गरेको छ ,झीरुवासको कबुलिएती बनले ईलामको झल्को दिदै आर्थिक रुपमा अगाडि बढि समृद्ध वनिरहेको छ । यसले अम्रीसोको कुचो विक्री गर्दै आएको छ । निस्दी गाउँपालिका भित्र रहेका ६४ वटा कबुलिएति बनले अहिले निस्दीमा विभिन्न क्षेत्रमा काम गर्दै बाझो र पाखो वारिको सदुपयोग गरि समृद्ध निस्दीको परिकल्पनालाई साकार पार्ने गोरेटो बनाउदै गएको छ ।
अहिले निस्दी अलैचिको पकेट क्षेत्र विस्तार गरि अगाडि बढिरहेको छ भने दालचिनि, अम्रीसो, टिमुर कागति जस्ता विरुवा रोप्दै भोलिको भबिश्य निर्धारण र्गन तर्फ लागेको छ । कवुलिएति बन बाट मात्र निस्दी बासिले अहिले करिव ५ करोड बरावरको व्यापार गरेको निस्दी सव डिभिजन वन कार्यलयका प्रमुख नन्नप्रसाद अधिकारिले बताए । उनले अहिले निस्दी वासीहरु कबुलिएति बन तिर आकर्षक भैरहेको र आम्दानी गर्दै गइरहेको बताए । निस्दी विकट ठाउँ भएपनि यहाँ सम्भाबना धेरै छन् र यी सम्भाबनाहरुको पहिचान गरि अगाडि बढ्नुपर्ने अधिकारिले बताए ।