बन्दना पोखरेल
रामपुर, साउन १३ । पाल्पाको रामपुर–७ का मानबहादुर सुनारको निधनको १३ औँ दिनको दिन प्रसाद खाएका एउटै गाउँका ५० भन्दा बढी बिरामी भएका छन् । पितृ प्रसादमा खिर, तरकारी र अचार खाएका उनीहरु बिरामी परेका हुन् ।
बुवाको निधनपछि १३ दिनको दिन प्रसादका रुपमा बजारको पोके दुधको खिर, तरकारी र अचार खाएको ओमबहादुर सुनारले बताए । बिरामीहरुको रामपुर अस्पतालमा उपचार भइरहेको छ । रामपुर अस्पतालमा अहिले ३० जना भर्ना भएका छन् । १३ जनालाई थप उपचारको लागि तानसेन रिफर गरिएको अस्पतालले जनाएको छ ।
बिरामी भएका सबै एकै गाउँका हुन् । आइतबार उम्कने दिनमा खाना खान पुगेका झण्डै सबै बिरामी परेका छन् । एकैपटक धेरै बिरामी भएपछि अस्पतालमा राख्न बेडको समस्या भएको छ । एउटै बेडमा दुई जना र खाली ठाउँमा समेत राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । बिरामीमा ज्वरो आउने टाउको दुख्ने, पखाला लाग्ने जस्ता लक्षण देखिएका छन् ।