हरि ज्ञवाली
गुल्मी जिल्ला क्षेत्र नं १ का प्रदेशसभा सदस्य एवम् पूर्वसासंद कमल श्रेष्ठले आफ्नो फेसबुक वालमा ‘जोगी र कम्युनिष्ट’ शीर्षकको आलेखमा आफू कम्युनिष्ट बन्न नसकेको आत्मस्वीकार गर्नुभएको छ । जिल्लामा एउटा लोकप्रिय कम्युनिष्ट नेताका रूपमा नेतृत्व सम्हालेर केन्द्रीय नेतासमेत हुनुभएको र पटकपटक जनप्रतिनिधि रहनुभएको उहाँले आफूमात्रै होइन,अन्य नेता पनि कम्युनिष्ट बन्न नसकेको अप्रत्यक्ष आशय झल्काउनुभएको छ । पटकपटक जिल्लाको नेतृत्व सम्हालेपछि जीवनको उत्तराद्र्धमा आएर उहाँले यसो किन देख्नुभयो त ? कुरा गम्भीर छ । हेरौँ, उहाँको फेसबुक स्टाटस :
जोगी र कम्युनिष्ट
जोगी र कम्युनिष्ट दुई विपरीत ध्रुव हुन् । जोगीले अध्यात्मवादको प्रतिनिधित्व गर्छ भने कम्युनिवटले भौतिकवादको प्रतिनिधित्व गर्छ । दुवैले संसारलाई राम्रो सुखमय बनाउन हिँडेका हुन्छन् । जोगीले मरेपछिको संसारलाई सुखमय (स्वर्ग ) बनाउने लक्ष्य राखी सांसारिक सुख त्यागेर काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यदेखि धेरै माथि उठेको हुन्छ । त्यसैगरी कम्युनिष्टले यही संसारलाई सुखमय (साम्यवादी)अवस्थामा पु¥याउन व्यक्तिगत चिन्तनबाट धेरै माथि उठेर त्याग, तपस्या, बलिदानको भावनाले ओतप्रोत भएर समाज बदल्न हिँडेको हुन्छ । त्यसैले यी दुवै श्रद्धाका पात्र हुन् । तर जोगी नाम र भेषधारी मान्छे के साँच्चै जोगीका चरित्रका छन् त ? त्यसैगरी कम्युनिष्ट नाम र लालसलामधारी मान्छेहरू के साँच्चै कम्युनिष्ट चरित्रका छन् त ? मलाई लाग्छ अहिलेको मूल समस्या भनेको यही हो । म पनि कम्युनिष्ट नामधारी मान्छे त हुँ तर इमान्दारीपूर्वक भन्नुपर्दा म कम्युनिष्ट चित्रको मापदण्डभित्र पर्दिनँ,अरूको कुरा मैले जान्दिनँ ।
हाम्रा जनप्रतिनिधि कमल श्रेष्ठले लेख्नुभएका यी पङ्तिको अर्थ समयसान्दर्भिक व्यङ्ग्यात्मक तर अत्यन्तै अर्थयुक्त, विश्लेषणयुक्त र मननीय त छ नै । नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट विसं २०५१ सालमा सूर्य चिन्ह लिएर प्रतिनिधिसभा सदस्य भइसक्नुभएका र हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को घोषणापत्र र सूर्य चिन्ह नै लिएर प्रदेश सभा सदस्यमा पुनः निर्वाचित भई जनप्रतिनिधि हुनुभएका कमल श्रेष्ठले आखिर किन यो कुरा लेख्नुभयो ? के उहाँमा जीवनको उत्तराद्र्धमा सैद्धान्तिक विचलन आएको हो वा उहाँले इमान्दारीपूर्वक सत्य कुरा अभिव्यक्त गर्नुभएको हो ? अथवा कम्युनिष्ट भनिएका नेताहरूप्रति तिखो व्यङ्ग्य गरेर नेताहरूलाई आआफ्नो गलत आचरण र व्यवहार सुधार्नैपर्ने सन्देश दिन खोज्नुभएको हो ? यसको तात्विक अर्थ र व्याख्या त उहाँले नै गर्नुहोला । तर त्यस फेसबुक स्टाटसले एउटा तरङ्गचाहिँ सिर्जना भने गरेको छ ।
विसं ०४५–४६ सालतिर गुल्मीको रेसुङ्गा क्याम्पस अध्ययन गर्दाको कुरा हो । माननीय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबाट कक्षा ४ मै पढ्दा संगठित म र हामीलाई क्याम्पसमा पढ्दा प्रदीप ज्ञवाली, कमल श्रेष्ठ, भरत पोखरेललगायतले कम्युनिष्ट सिद्धान्त, आदर्श, आचरण र व्यवहारबारे प्रशिक्षण दिनुहुन्थ्यो । ‘कम्युनिष्टहरूले आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर समाज र राष्ट्रका लागि काम गर्नुपर्छ ।’ ‘रगतको नाताभन्दा सिद्धान्तको नाता नजिक हुन्छ ।’ ‘समाजको विकृति, बेथिति, भ्रष्टाचार र तमाम विसङ्गतिलाई कम्युनिष्टहरूले नै अन्त गर्नुपर्छ ।’ ‘कम्युनिष्टमा लागेकाहरूमा नै फलामे अनुशासन, उच्च नैतिकता र सच्चा मानवता हुन्छ ।’ ‘अन्याय र अत्याचार गर्नुमात्रै होइन, सहनु पनि पाप हो ।’ ‘धर्म अफिमको नशा हो ।’
‘गरिरब, श्रमजीवी,किसान र महिलामुक्ति नै कम्युनिष्टका लक्ष्य हुन् ।’ ‘आफ्ना लागि हैन, समग्र मानव मुक्तिका लागि लड्ने हुँदा कम्युनिष्ट हुनुमा गर्व गर्नुपर्छ ।’ आदिआदि । उहाँहरूका ती महान् विचारहरू आज पनि स्मरणमा ताजै छन् । उहाँहरूको विचारलाई हामी आदर्श मन्त्र मान्थ्यौँ र अद्यापि मानिरहेका नै छौँ । तर समयको अन्तरालसँगै हिजोका ती भनाइ र धेरैजसो कम्युनिष्ट नेता कार्यकर्ताका आजका गतिविधि र व्यवहार देख्दा भने अचम्म लाग्छ । हामी बिग्रेका रहेछौँ कि उनीहरू बिग्रेका हुन् भन्ने अन्योल हुन्छ मानसपटलमा । यस्तो अन्योलग्रस्त मानसपटलका बीच आदर्श नेता मानिएका कमल श्रेष्ठको फेसबुक वालले विचारलाई झन् तरङ्गित बनाइदिएको छ ।
नेतृत्वलाई नै कम्युनिष्टप्रति मोहभङ्ग किन हुन्छ ?
त्यसो त तात्कालीन एमालेबाट पटकपटक संसद्मा निर्वाचित व्यक्तित्व पद्मरत्न तुलाधरले पनि आफू कम्युनिष्ट बन्न नसकेको आत्मस्वीकारोक्तिपूर्ण अभिव्यक्ति पटकपटक दिने गर्थे । साम्यवादी दर्शनअन्तर्गत धर्म अफिमको नशा हो भन्दै द्वन्द्वात्मक भौतिकवादी चिन्तन बोकेर सामन्त र वर्ग शत्रु सफाया अभियानमा सक्रिय नेपाली नेल्सन मन्डेला मोहनचन्द्र अधिकारी जीवनको उत्तरार्धमा श्रीमद्भागवत्, वेद, पुराणको आध्यामिक अध्ययन, अनुशरण र गहिरो चिन्तन मननमा लागेको प्रसङ्गलाई साम्यवादी दर्शनको प्रभावकारिता मान्ने कि नमान्ने ? विश्लेषण र तर्क आ–आफ्नै हुन सक्छन् । कम्युनिष्ट पार्टीका ताकालीन महासचिव केशरजंग रायमाझी संगठितरुपमै राजा महेन्द्रको पञ्चायती व्यवस्थामा पलायन हुनु पनि एउटा उल्लेख्य घटना नै हो ।
गुल्मी जिल्लाबाट सामन्त र पूँजीपति समाप्तिका लागि हर्रेबर्रे आन्दोलनका अभियन्ता, गुल्मी कम्युनिष्ट आन्दोलनका अगुवा एवम् नेकपाका संस्थापक नेता पुष्पलालका समकालीन केशरमणि पोखरेलको जीवनको उत्तरार्धमा आफूले वर्गशत्रु घोषणा गरेकै नेपाली काङ्ग्रेसमा प्रवेशलाई कसरी अथ्र्याउने ? कम्युनिष्ट आन्लोलनका नेता निलाम्बर आचार्यको काङ्ग्रेस पलायनलाई कुन रुपमा बुझ्ने ? डीपी अधिकारी, कमलराज रेग्मी आदि जस्ता कम्युनिष्ट नेतृत्वहरूको पलायनलाई कसरी लिने ? अझ भनौँ जनयुद्धको नाममा हजारौँको बलिदानी लिएपछि पार्टी नै त्यागेर गैरजिम्मेबार बन्ने डा. बाबुराम भट्टराईलाई कस्ता नेताका रुपमा लिने ? यी केही प्रतिनिधि पात्र मात्रै होइन, नेपाल कम्युनिस्ट पार्टीको इतिहासमा यस्तै थुप्रै पात्रहरू भेटिन्छन्, जसले कम्युनिष्ट पार्टीको नेतृत्व तहमा पुगेरै कम्युनिष्टको बदनाम गरे, दुरूपयोग गरे, पलायन भए र अन्ततोगत्वा कम्युनिस्ट आन्दोलनलाई बाधा पु¥याए । यस्तो ऐतिहासिक यथार्थ र पृष्ठभूमिका बीच कुन नेतृत्वलाई, कुन आधारमा, कसरी पूर्णतः विश्वास गर्ने ? शंका सहजै उब्जिन्छ ।
कम्युनिष्टहरू को हुन् त ?
विकिपेडिया भन्छ–राजनीतिशास्त्र र समाजशास्त्रमा कम्युनिज्म भनेको त्यस्तो दार्शनिक, राजनीतिक, सामाजिक र आर्थिक विचार एवं आन्दोलन हो जसले अन्तिम उद्देश्य उत्पादनका साधनहरूमा साझा अधिकार स्थापित गर्दै वर्गविहीन राज्य र समाज निर्माण गर्ने अन्तिम लक्ष्य राख्दछ ।विचारक कृष्णदास श्रेष्ठले भनेका छन्–कम्युनिष्ट त्यस्तो व्यक्तिलाई भनिन्छ, जो शोषण र उत्पीडनमा आधारित सामाजिक व्यवस्थाको उन्मूलन गरी शोषणरहित, वर्गविहीन तथा समृद्ध समाज निर्माण गर्ने संघर्षमा संलग्न हुन्छ । कम्युनिष्ट भनेका सर्वहारा वर्गको राजनीतिक पार्टीको सदस्यका हैसियतबाट राजनीतिक क्षेत्रमा क्रियाशील कार्यकर्ता हुन् ।
हामीले सानैदेखि सुन्दै र पढ्दै आएको कुरा हो, कम्युनिज्म एउटा त्यस्तो विचार हो, जसले निजी स्वामित्वको अन्त्य गर्दै आर्थिक समानताको लक्ष्य राखेको हुन्छ । कम्युनिज्मको सिद्धान्तलाई एकै वाक्यमा संश्लेषण गर्ने हो भने निजी सम्पत्तिको अन्त्य नै कम्युनिष्टहरूको लक्ष्य हो । व्यक्तिगत सम्पत्ति थुपार्ने कम्युनिष्ट हुन सक्दैन । कम्युनिष्ट विचारअनुसार पूँजीवादमा उत्पादनका साधनहरू (व्यापार, व्यवसाय, उद्योग, कलकारखाना) आदिमा निजी स्वामित्व रहन्छ, । तिनै निजी सम्पत्ति र उत्पादनका साधन (जस्तैः जमिन, पूँजी, श्रम)को अन्त्य गरी सामूहिक स्वामित्व गराउनु नै कम्युनिष्टहरूको लक्ष्य हो, आदर्श हो । कम्युनिष्ट राजनीतिका मूल आधार नै श्रमिक वर्ग र गरिब जनता हुन् ।
कम्युनिष्टका १० विशेषता के हुन् ?
असल कम्युनिष्ट कसरी बन्ने ? असल कम्युनिष्टका खास गुणहरू के–के हुन् ? यसबारे कार्ल माक्र्सदेखि एंगेल्स, लेनिन, स्टालिन, माओत्सेतुङ, चे–ग्वेभारालगायत विश्वका थुप्रै क्रान्तिकारी कम्युनिष्ट विचारक र नेताहरूले प्रशस्तै बहस चलाएका छन् । असल कम्युनिष्ट कसरी बन्ने ? शीर्षकमा चिनियाँ कम्युनिष्ट नेता ल्यू–साओचिले एउटा पुस्तक नै लेखेका छन् । उक्त पुस्तकमा असल कम्युनिष्टका गुणहरूबारे गहन चर्चा गरिएको छ । ती मूल गुणहरू यस प्रकार छन् ।
१. आफूमा दृढ आत्मविश्वास विकास गर ।
२. माक्र्स–लेनिनका योग्य चेला बन ।
३. जनतासँग क्रान्तिकारी व्यवहार गर ।
४. सिद्धान्तलाई जनताको हित र आफ्नो व्यवहारसँग समन्वय गर ।
५. साम्यवादको लक्ष्यप्रति दृढ बन ।
६. आफ्नो स्वार्थलाई राष्ट्र र जनताका हितको अधीनमा राख ।
७. पार्टी र समाजका गलत विचारधाराका विरूद्ध लड ।
८. आफ्ना लागि हैन,मानव मुक्तिका लागि लड ।
९. विकृति र गैरसाम्यवादी विचारलाई त्याग ।
१०. आलोचना गर,मन्थन गर र नयाँ साँचोमा ढाल ।
नेपाली कम्युनिष्ट पार्टीमा देखापरेका समस्या
कम्युनिष्ट सिद्धान्त,आदर्श र नेपालको कम्युनिष्ट आन्दोलनकोे यतिखरको प्रवृत्तिबीच कुनै तालमेल देखिँदैन । धेरैजसो कम्युनिष्ट पार्टीहरू आफ्नो सिद्धान्त,विचार र व्यवहारबाट निरन्तर स्खलित भइरहेका छन् । सबभन्दा ठूलो पार्टी भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मै यतिखेर सबभन्दा धेरै विवाद र समस्या बढिरहेका छन् । नेताहरूबीचका हालका आन्तरिक गतिविधि, वैचारिक द्वन्द्व र आपसी किचलोका कारण नेपाली कम्युनिष्ट आन्दोलन एउटा जटिल र खतरनाक मोडमा पुगेको आभास सर्वत्र हुँदैछ । नेतृत्वपंक्तिबीच विवादका कारण आम कार्यकर्ता मर्माहत भएका छन् र नागरिकमा कम्युनिष्ट नेतृत्वप्रति नै आक्रोश, चिन्ता र निराशा बढ्दै जान थालेको छ । नमाने पनि यो सत्य हो, यथार्थ हो ।
नेकपाभित्र समस्याको गुजुल्टो फुकाउनै नसक्ने गरी बल्झिएको छ । थुप्रै समस्याका चाङहरू चुलिएको चुलियै छन् । झन्डै दुई तिहाइको अपार जनमतको ऐतिहासिक अवसरलाई कसरी उपयोग गरेर पाटीलाई अझ बढी लोकप्रिय बनाउने भन्नेतिर कोही पनि देखिँदैन । पार्टीमा योगदान गरेका असली कम्युनिष्ट नेता कार्यकर्ताहरू पछाडि पारिएका छन् । हिजोका अफ्ठेरा दिनहरूमा पार्टीलाई बचाउने, संगठन गर्ने र जनताबीच स्थापित गर्ने कार्यकर्ताहरूलाई जिम्मेवारविहीन बनाइएको छ । आज कम्युनिष्ट आचरण र सिद्धान्तमा खिया लागिसकेको छ । गुन्डा, डन, दलाल, कमिसनखोर र पैसा हुनेहरूको चङ्गुलमा पार्टी फसिसकेको छ । तिनैको बोलबाला र स्वार्थअनुरूप पार्टीका गतिविधिहरू सञ्चालन हुन लागिरहेका छन् सिङ्गो पार्टी माथिदेखि तलसम्म पुँजीवादी वा बुर्जुवा पार्टीका रूपमा परिणत हुँदैछ । जनवादी आदर्श, चिन्तन र विचार भुत्ते भएको छ । संगठन भताभुङ्ग र लथालिङ्ग छ । त्यत्रो विशाल सांगठानिक संरचना आज खै कहाँ के गर्दैछ ? थाहा छैन । ती नियमित बैठक र छलफल आज किन भइरहेका छैनन् ? कता मिल्क्याइँदै छ त्यो क्रान्तिकारी स्पिरिट, ऊर्जा अनि नागरिकका समस्याको चिन्तन ? कता गए ती कम्युनिष्ट आचरण, विचार र सिद्धान्तको आदर्श ? किन टुट्दैछ पार्टीनेतृत्व, कार्यकर्ता र आम नागरिकबीचको त्यो आत्मीयता र अन्तरसम्बन्ध ? त्यत्रो वर्षको बलिदान, संघर्ष र निरन्तर आन्दोलनको प्रतिफल आम नागरिकलाई खोई, के ? नेताहरूले पद, प्रतिष्ठा, अभिमान र स्वार्थलाई एजेन्डा बनाएर किन जात्रा देखाइरहेका छन् ? यो जात्रा र कुप्रवृत्तिको अन्त जरूरी छ ।
अतः नेतृत्व तह नै कम्युनिष्टको सिद्धान्त र विचार छोडेर पद र पैसाको राजनीतिमा हाम फालेपछि, व्यक्तिगत स्वार्थको राजनीतिमा पल्केर अकुत सम्पत्ति कुम्ल्याउन थालेपछि कम्युनिष्ट हुँ भनेर गर्व गर्ने अवस्था नरहेको वर्तमान परिप्रक्ष्यमा आफूलाई त्यो आरोपबाट अलग राख्न र त्यस्ता विकृत क्रियाकलाप र चिन्तनमा आफू नरहेको स्पष्ट पार्न कमल श्रेष्ठले त्यस्तो लेख्नुभएको हो वा नेताहरूलाई व्यङ्ग्य हानेर सुध्रिन आग्रह गर्नुभएको हो ? कुरो रहस्यमय, अर्थयुक्त र विश्लेषणयोग्य छ । आत्मस्वीकार भए झन् प्रशंसायोग्य नै छ । जे होस् ,नेपालका नेताहरूको आचरण, चिन्तन र व्यवहारमा पूर्णतः परिवर्तन अनि पार्टीमा तत्काल शुद्धिकरणको अपरिहार्य आवश्यकता छ । बेलैमा सोचौँ है । अस्तु ।