बुटवल, साउन २२ । बुटवल उप–महानगरपालिकाले हाटबजार, शैलुनलगायका केही व्यवसाय बन्द गरेपनि थोक बजार र अन्य भिडभाड हुने स्थान बन्द नगरेको प्रति हाटबजार व्यवसायीहरुले विरोध गरेका छन् । बुटवलको हाटबजारस्थित सपिङ कम्पलेक्समा व्यवसाय गर्ने २ जना भारतीय व्यवसायीलाई कोरोना देखिएको बाहानामा बुटवल उप–महानगरपालिकाले हाटबजारलाई बन्द गरेको भन्दै उनीहरुले विरोध जनाएका छन् ।
लकडान पूर्व चैत ६ गतेदेखि बैशाख अन्तिम सातासम्म ठप्प रहेको हाटबजार स्थानीय तहकै भद्र सहमतिमा जेठको पहिलो साताबाट केही व्यवसायहरुलाई हाटबजार लगाउने दिने सहमति भएको थियो । सहमतीअनुसार सरकाले आग्रह गरेको स्वास्थ्य सावधानी अपनाउँदै व्यवसाय गर्ने गरेकोमा बुटवल उप–महानगरपालिकाले सपिङ कम्पलेक्समा व्यवसाय गर्नेलाई कोरोना देखिएको बाहनामा हाटबजार नै बन्द गर्दा हुँदा खानेहरु सबैभन्दा मर्कामा परेको हाटबजार व्यवसायी संघका अध्यक्ष टेकबहादुर जिसीले बताए ।
उनले स्वास्थ्य सावधानी सबै अपनाउँदै उनले जोड विजोड परिचय पत्रका आधारमा समेत व्यवसाय सञ्चालनका लागि तयार रहेको बताए । पछिल्लो समय समुदाय स्तरमा कोरोना फैलिएको भन्दै बुटवल उप–महानगरपालिकाले हाटबजारमा व्यवसाय गर्ने ३५ जनाको स्वाव संकलन गरी परीक्षणसमेत गरेको थियो । तर परीक्षणको क्रममा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । संघले बढी भिडभाड हुने क्षेत्रमा स्थानीय तहले नियन्त्रण गर्नुको सटटा हाटबजारलाई बन्द गर्दा समस्याको समधान नहुनेसमेत बताएको छ । बुटवलको थोक बजार केन्द्र, ठुला सपिङ कम्प्लेक्स, ठुला किराना पसलमा अहिले पनि भौतिक दूरी कायम नहुने गरी भिडभाड हुँदासमेत स्थानीय तहले नियन्त्रणमा चासो नदेखाएको तर हाटबजार मात्र बन्द गरेर नियन्त्रणको हुने संघका निर्वतमान अध्यक्ष भिमलाल ज्ञवालीले बताए ।
हाटबजार सञ्चालनका लागि बुटवल उप–महानगरपालिकासंग पटकपटक छलफल भइरहेको समेत उनले बताए । उनले गरिखाने बर्ग सवैभन्दा बढी मर्कामा परेकाले भौतिक दूरी एवं स्वास्थ्य सावधानी अपनाएर केही व्यक्तिलाई मात्र भएपनि हाटबजार लगाउने वातावरण स्थानीय तहले तयार गर्नुपर्ने उनको भनाइ छ । संघले ३ हजारभन्दा बढी गरिखाने वर्ग हाटबजार बन्दले सबैभन्दा बढि प्रभावित भएको बताएको छ ।