बन्दना पोखरेल
रामपुर, साउन २७ । पाल्पाको रामपुर नगरपालिकामा रहेको रामपुर अस्पतालमा भिडियो एक्सरे सेवा पुनः संचालनमा आएको छ । डेढ वर्ष अघि देखि रोकिएको सेवालाई पुनः शुभारम्भ गरी मंगलवार देखि संचालनमा ल्याइएको हो । भिडियो एक्सरे सेवा संगै डिजिटल एक्सरे सेवा पनि संचालनमा ल्याइएको छ ।
रामपुर अस्पताल विकास समितिका सदस्य ईश्वरीदेवी खनालको अध्यक्षतामा एक कार्यक्रम गरी सेवाको थालनी गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य युवराज खनालले मेसिनको शुभारम्भ गर्दै नागरिकले साच्चिकै सेवा पाएका छन् भनेर स्वास्थ्यकर्मीले सेवा प्रवाह गरिनुपर्ने बताए । अस्पतालको कमी कमजोरी व्यवस्थापन गर्न समिति तात्नुपर्ने बताउँदै प्रदेश सभा सदस्य खनालले माथिल्लो सरकारले तल्लो निकायसँग समन्वय गर्ने र तल्लो सरकारले माथिल्लो सरकारसँग सल्लाह सुझाव लिएर काम गरेमा मात्र नागरिकले राम्रो सेवा पाउने बताए ।
साथै उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा महत्व दिएको र यस अस्पताललाई आगामी दिनमा मेडिकल कलेज बनाउनका लागि प्रदेश सरकार र संघीय सरकारमा पहल गर्ने, पाल्पा जिल्लामा संचालित पन्ध्र शैयाका अस्पताललाई पचास शैयाको बनाउनेतर्फ प्रदेश सरकार लागि परेको बताए । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पाल्पा जिल्लामै ठुलो क्षमताको अस्पतालको रुपमा चिनिएको यस अस्पतालमा भिडियो एक्सरे सेवा नहुदा पूर्वी पाल्पा संगै गण्डकी वेशीको ठुलो समस्याका रुपमा रहेको बताए । बिशेषज्ञ सहितको दरबन्दी भएको यस अस्पतालले नागरिकले देख्ने गरी सेवा सुबिधा दिन स्वास्थ्यकर्मीलाई नगर प्रमुख थापाले आग्रह गरेका छन् ।
अस्पतालका निमिक्त प्रमुख मेडिकल सुपरीटेण्डेन डा.विजय परियारले नियमित रुपमा हप्ताको तीन दिन आईतवार, मंगलवार र बिहिवार (आईतवार गर्भवतीको जाँचको दिन) सञ्चालन गरिने बताए । सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर पाँच सरकारको सहयोगमा नयाँ मेसिन खरिद गरेपछि मंगलवार देखि पुनः सेवा सुरु गरिएको हो । प्रदेश सरकारबाट प्राप्त रु ३२ लाख वजेटमध्ये रु २० लाखको लागतमा भिडियो एक्सरे मेसिन र रु १६ लाखमा डिजिटल एक्सरे सामग्री खरिद गरिएको हो । जसमा अस्पतालको सुदृढीकरणबाट रु चार लाख गरी रु ३६ लाखको लागतमा मेसिन खरिद गरी सुचारु गरिएको डा. परियारले जानकारी दिए ।
पचास शैयाका रुपमा स्तरोन्नती भएर अस्पतालको भौतिक पूर्वाधार निर्माणाधीन अवस्थामा रहेको अस्पतालको भिडियो एक्सरे सेवा नहुदा यहाँ उपचारका लागि आएका बिरामीले अन्यत्र निजी मेडिकलमा जानुपर्ने बाध्यता थियो । भिडियो एक्सरे सेवा सुरु भई सेवा लिन पाउँदा धेरै समय खर्चेर अन्यत्र मेडिकलमा जानुपर्ने समस्या र आर्थिक भार पनि हटेको रामपुर–८ निवासी तारा थापाले बताइन् ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी रामपुर नगर कमिटि ईन्चार्ज राजुप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, पूर्व अस्पताल सञ्चालन समिति अध्यक्ष फणेश्वर गौतम, नेपाल पत्रकार महासंघ जिल्ला सदस्य दुर्गेश मल्ल लगातयले बोल्दै अस्पतालको सेवा सञ्चालनमा संयमित भएर सबै लाग्नुपर्ने, सेवाको दायरा फराकिलो बनाउनुपर्ने, छिटो छरितो सेवा प्रवाह गरी नागरिकको सेवामा निरन्तर खटेर काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे । कार्यक्रमको सञ्चालन अस्पतालका प्रशासन सहायक हिरा विकले गरेका थिए ।