बुटवल, साउन २९ । देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बुटवल–११ देविनगरले बहुउद्देश्यीय भवन बनाउने भएको छ । संस्थाको परिसरमै निर्माण थालिएको उक्त बहुउद्देश्यीय भवनको संस्थाका अध्यक्ष भरत पाठकले बिहीबार शिलान्यास गरे । झण्डै २० लाख रुपैयाँ लागतमा बन्ने बहुउद्देश्यीय भवन ६ महिनाभित्र तयार गरिने अध्यक्ष पाठकले जानकारी दिए ।
भवनका पाँच वटा सुविधा सम्पन्न कोठा, स्तरीय शौचालय, प्रशस्त पानीको व्यवस्थासहितका बन्नेछन् । भवनलाई बहुउपयोगका लागि छिट्टै प्रयोजनमा ल्याइने पाठकले बताए । पछिल्लो समय देवसिद्ध खानेपाली संस्था रूपन्देहीकै उत्कृष्ट र नमुना बन्दै गएको छ ।
संस्था सरसफाईको क्षेत्रमा पनि उत्तिकै क्रियाशील छ । संस्थाका सचिव लोकराज शर्माले खानेपानीको गुरूयोजना निर्माण गरेर कार्यालय परिसरमा पानीका फोहोरा, बगँैचा र ‘लाइटिङ’ जडान गर्ने जस्ता विभिन्न योजनाहरु समेत अगाडि सारिएको बताए । संस्थामा अहिले व्यवस्थित शौचालय, ‘बोरहोल’ जेनेरेटर प्लेटफर्म निर्माण काम पनि भइरहेको छ । खानेपानी संस्थाको ८ सय ५० उपभोक्ता छन् ।
शिलान्यास कार्यक्रममा बुटवल उप–महानगरपालिका कार्यापालिका सदस्य सुस्मा अर्याल, संस्थाका सल्लाहकारहरू सुरज भट्टराई, नरेशचन्द्र ढकाल, खिमबहादुर टन्डन, संस्थाका सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमितिका सदस्य र कर्मचारीहरुको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष भरत पाठकको अध्यक्षता, उपाध्यक्ष लालबहादुर थापाको स्वागत तथा सचिव लोकराज शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।