रुपेशकुमार श्रेष्ठ
एउटा दही मात्र खाने युवकलाई घरपरिवारले सम्झाएछन्–बाबु दही मात्र नखाऊ रोटी, भात, फलफुल सबैखाले परिकारको मात्रा मिलाएर खाऊ । दही मात्र खादा स्वास्थ्यलाई धेरै नोक्सान हुन्छ, ज्वरो, रुघाखोकी, टाइफाइड हुन्छ भनेर घरकाले, नातागोता, आफन्तले, महिनौ सम्झउँदा पनि त्यस युवाले बानीमा सुधार नल्याएको हुँदा उसले पढ्ने गुरु स्कुलसम्म परेशान भएका आमाबुबाले छोराको समस्याबारे अनुनय बिनय गरेछन् ।
त्यहाँ गुरुहरुले सम्झाउँदा पनि नमानेपछि त्यो युवालाई गुरुहरुको सल्लाहमा एकजना साधु (फकिर) कहाँ लगेछन् र सम्पूर्ण समस्या आउनुको कारण बताएछन् । अब हाम्रो समस्याको समाधान अन्तिम विकल्प तपाईं मात्र हो, पार लगाई उद्दार गरिदिनुस् । हामी तपाईंको शरणमा आयौँ भने पछि साधुले चिन्ता नलिनुस् भनेछन् । अब फकाएर त्यस युवालाई सोधेछन्– बाबु तिमीले किन कसैको कुरा किन मान्दैनौ ? भन्दा युवाले भनेछन्–मलाई दही मात्र खान मन पर्छ । सबैले जति खान हुँदैन भनेर सम्झाउँछन् ।
मलाई झन खान मन लाग्छ । रातदिन नोक्सान हुन्छ मात्र भन्नुहुन्छ, अति गरेपछि मैले यहाँहरुको कुरा पनि सुन्न छाडेँ । मलाई चित्त बुझ्दो तर्क मिलेन । जहाँ पनि जहिले पनि नोक्सानी हुन्छ मात्र भन्ने ? त्यसपछि साधुले भन्न थालेछन्–कसले भन्छ दही मात्र सेवन गर्नाले नोक्सान हुन्छ भनेर ? फाइदा फाइदा मात्र हुन्छ । दही मात्र सेवन गर्दा हजार फाइदा छन्–जसमध्ये चारवटा भयकंर फाइदा छन् सुन भनेपछि युवा झसंग भएछ । आजसम्म दही मात्र सेवन गर्दा नोक्सानैको प्रवचन सुनेको कानले फाइदै फाइदा त्यसैमा चार भयकंर फाइदा हुन्छभन्दा त्यो युवाको ध्यान आकर्षित भएर सुन्न थालेछ र साधुलेले चार फाइदाको विषयमा भन्न थालेछन् ।
एउटा दही मात्र खानेको घरमा चोर आउँदैन, दही मात्र खानेलाई कुकुरले टोक्दैन, दही मात्र खाने व्यक्ति पानीमा डुबेर मर्दैन र अर्को दही मात्र खाने व्यक्ती कहिल्यै बुढो हुँदैन । किनकि चोर नपर्नु भनेको रुघाखोकी लागेको रोगी रातभरि कासेकोकासै गर्छ । चोर जाग्राम बसेको घरमा जाने कुरै भएन । त्यस्ता रोगीले लौरो टेकेर हिँड्छ, हातमा लौरो भएपछि कुकुरले टोक्ने कुरै भएन । त्यस्ता रोगी मान्छे नुहाउने कुरा भएन, ननुहाउने व्यक्ति पानीको किनारमा नगए पानीमा डुबेर मर्ने कुरै भएन । यस्ता दही मात्र सेवन गर्ने फोक्सो को रोगी हुनेनै भए फोक्सोको रोगी दुईचार महिनाभन्दा बढी बाँच्दै बाँच्दैनन् त्यसकारण कदापि बूढो हुने कुरै भएन ।
अतःहाम्रा नेकपाका नेताहरुलाई लाखौँलाख कार्यकर्ताले अनुनय विनय गर्दा पनि मेरो गोरुको बाहै्र टक्का किन ? पद र कुर्चीको कति आत्तुरी, यति ठुलाठुला उद्घोष भएका छन् । सबै पूरा हुन सक्ने खालेकै छन्, पूरा भएपछि त बीसौँ वर्ष नेकपाको कुन नेताले पालो नपाउला । हेर नेता हो ! सरकार नढाले, पार्टी नफुटाए कल्पबृक्षको बोटमुनि छौ, विपरीत ग¥यौँ भने कालबृक्ष सिद्द हुने छ । फुलको माला लगाउने कि जुत्ताको माला तपाईंहरुको हात माछ ।
केपी र प्रचण्ड मात्र होइन, जिम्मेवार सबै नेतालाई स्पष्ट चिनेका छौँ । लेखेर डायरीमा नोट गरी हाल्नुस् मरता क्या नहि करता, हामी गाउँ छाड्नु पर्छ भने कालो मोसो दलेर गाउँ छोडौँला । पार्टी एकीकरण गर्दा हामीलाई सोधेका थियौँ ? हामी मान्यौँ बाम एकता अपरिहार्य थियो । राम्रै भयो, अब फुट केका लागि स्पष्टिकरण चाहिन्छ कि चाहिँदैन ? पार्टी नफुटे तपाईंहरुको कुर्ची सधै सुरक्षित छ, केका लागि पार्टी फुट्ने त, लैनचौरको पैसा पचाउन् त होला । नेता जी हो ख्याल गर्नुस् हामीले पनि धेरै बुझेका छौँ । भारतीय मिडिया, नेपाली मिडिया हेरेका छौँ, धेरै सहेका पनि छौँ, सहनुको पनि हद हुन्छ, अब सिमा नाघ्यो ।
पार्टी फुटाएमा दही मात्र खाने व्यक्तिका चार फाइदा तपाईं नेताहरुले पनि पाउनुहुन्छ । अतः आ–आफ्नो ढिपी छाडेर सही ट्रयाकमा आउने कि नआउने ? खेतमा भएका मुला नउखल्लिएपछि हल्लाएर काम नलाग्ने गरी छाड्न हामीले पनी जानेका छौँ । यो पनि बुझ्नु भएको होला, नेकपा नरहे, नेकपाबिनाको नेपाल एक पटक कल्पना गर्नुस् त, देशले पाएको उपलब्धिको रक्षा हुन्छ कि हुदैन, नेकपा ले गरेको उद्घोषको कार्यान्वयन कस्ले गर्ला ? गर्लाकी नगर्ला ? नगरे के होला ? तपाईहरुले पार्टी अध्यक्ष ८ महिना पहिले छाड्दा वा ८ महिना पछि पाउँदा केही फरक पर्दैन, तर तपाईंहरुलाई त्यत्ति फरक नपर्नुका कारणका बावजुद देश, जनता र पार्टीले यती ठुलो क्षती ब्यहोर्नु पर्छ भने तपाईंहरुलाई कुन कारण र कोणबाट माफी दिने, तपाईंहरुलाई इच्छाएको सजाय हामी कार्यकर्ताले दिन किन नपाउने ? आफूले आफैँलाई ढाँट्ने काम नगरौँ ।
एउटै डुङ्गामा सवार छौँ, तपाई र हामी आफ्नै कारण ले डुबौँला तर यहाँ डुङ्गा डुब्दै छ, देश डुब्दैछ, यहाँ हजारौँ कार्यकर्ताको खुन र लाखौँ कार्यकर्ताको पसिना डुब्दैछ । तपाईंहरुलाई राजनीति लागेको छ । तपार्इहरुलाई त लाजनीति लाग्नु पर्ने होइन र ? त्यस अर्थ तपार्इहरुको असम्मानमा कालो झण्डा किन नदेखाउने ? कारणसहित उत्तर दिनुस् अन्यथा हामी पनि गौडामा बसेर प्रतिक्षारत छौँ ।
फुटको पिडा……
दुवै पक्षका नजिकमा बसेका बामदेव गौतमसँग सोध्नुस् जन आन्दोलनपछिको बामन अवतार, गृहमन्त्रीपछि स्थानीय तह बहुमतले जिताउने देवतर, माले भएपछिको गौतम अवतार आजसम्म गौतमै गौतम भएर भौतारिरहेका छन् । पार्टीमा लगानीका हिसाबले अब्बल स्थान पाउने पर्ने व्यक्ति दरबार दरबार गएर सल्लाह दिने स्थानमा कार्यरत छन् ।
यस्ता उदाहरणहरू अरू तमाम छन् सिपी मैनालीलाई हेर्नुस्, मोहन वैद्यलाई हेर्नुस्, डा.बाबुराम भट्टराइलाई हेर्नुस् छताछुल्ल छ कतै लुकेको छैन । कल्पवृक्षको रूखमुनि बस्ने कि कालकुट विषको रूखमुनि बस्ने आफ्नो कित्ता रोज्नुस् । घुस लिने र घुस दिने दुवै अपराधी हुन भने पार्टी फुटाउने र पार्टी जुटाउन नसक्ने पनि दुवै अपराधी नै हुन भन्ने जनआवाज र जनगुनासो पनि यही हो ।