महामारीको जोखिम र संक्रमणको खतरालाई मध्यनजर गर्दै बुटवल उपमहानगरपालिकाले नया मापदण्डसहितको बन्दाबन्दी आह्वान गरेको कुरा आदरणीय नगरबासी महानुभावहरु सबैलाई अवगत नै छ । कोभिड–१९ को महामारीविरुद्ध बुटवलमा जारी अभियानलाई प्रभावकारी बनाउन जनस्तरबाट भएको सहकार्य एवम् सहयोगको ठूलो भूमिका रहेको छ ।
अहिले सांस्कृतिक पर्वका रुपमा वर्षौंदेखि मनाइँदै आएको हरितालिका तीज पर्व सुरु भएको छ । पौराणिक समयदेखि नै सांस्कृतिक रीतिरिवाज, सद्भाव तथा जागरण र महिलाहरुले उत्सवका रुपमा मनाउँदै आएको पर्व हो( हरितालिका तीज । यो तीज पर्वलाई यसपालि आपसमा जुटेर, भेला भएर, टोलछिमेकमा यताउता गरेर होइन, सबैले आ-आफ्नै घरमा स्वास्थ्य सुरक्षा सावधानी सहित मनाउनु हुन विनम्र अनुरोध गर्दछौं ।
हालको यो बन्दाबन्दी कसैको पनि रहर होइन । शैक्षिक संस्था त लामो समयदेखि बन्द नै छन् । साथै उद्योग, कलकारखाना, व्यवसाय, प्रतिष्ठानहरु पनि बन्द गरेर महामारी विरुद्धको लडाइँ लड्नु परेको छ । यसबाट उत्पन्न भएको कष्ट र समस्या हामी मानव जाति सबैको बाध्यता नै बन्न पुगेको छ । अझ केही समय यसैगरी महामारीको सामना गरौँ जसलाई हामीले जित्ने नै छौं ।
महामारीबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय भनेकै सबैले पूर्ण सावधानी अपनाउँदै घरमै बस्नु हो । कुनै आपतविपत वा जरुरी काम नपरेसम्म घर बाहिर ननिस्कौं र निस्कन नदिऔं । बुटवलमा विभिन्न वडा र टोलसम्मै संक्रमितहरु फेला परेको अवस्था छ त तिनीहरुमा कहिले, कहाँ, कसरी संक्रमण भयो भन्ने विषयमा शुक्ष्म ढंगले खोजीकार्य भइरहेको छ ।
संक्रमित भएकालाई अवस्था र लक्षणका आधारमा व्यवस्थित स्थानमा राखिएको छ । साथै उनीहरूको नजिकमा पुगेका, संसर्ग भएकाहरुको समेत खोजि गर्दै परीक्षणको दायरामा ल्याउने काम भइरहेको छ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड र सुरक्षा निर्देशिका बमोजिम बुटवलमा सबैतिरबाट कन्ट्याक्ट् ट्रेसिङको काम अगाडि बढाइएको छ ।
बुटवलमा हालसम्म ९२ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २६ जना निको भएर घर फर्किइसक्नु भएको छ । भने, आइसोलेसन सेन्टरमा रहेका बाँकी ६६ जना संक्रमितहरु पनि उच्च मनोबलमा हुनुहुन्छ । उहाँहरुलाई आयुर्वेद, योगा अभ्याससहितको वैकल्पिक उपचार विधिबाट स्फूर्ति र तन्दुरुस्ती जगाउने काम गरिएको छ ।
बुटवलमा तयार पारिएका क्वारेन्टिन, आइसोलेशन सेन्टर तथा कोभिड–१९ विशेष अस्पतालहरु र हामीले सञ्चालन गरेको कन्ट्याक्ट् ट्रेसिङलगायतका काम विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारका रहेको प्रमाणित भएका छन् । मापदण्डअनुसारका यिनै आइसोलेशन र अस्पतालमा रहनुभएका सबै महानुभावहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
कतै कतै त्रसित बनाउने, भय सिर्जना गर्ने र संक्रमितलाई छिछिरदुरदुर जस्ता अमानवीय दुर्व्यवहार गरिएका मौखिक गुनासा सुन्नमा आएका छन् । कतिपय स्थानमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई लक्षित गरेर अनावश्यक टिकाटिप्पणी गर्ने गरेका समाचार आएका छन् । यसो नगरौं, संक्रमितलाई हौसला बढाउने, मनोबल उच्च राख्ने कामका लागि प्रेरित गरौं । माया, स्नेह र सम्मानबाट नै संक्रमितलाई हौसला बढ्छ भन्ने कुरालाई मनन गर्न आदरणीय महानुभावलाई आग्रह गर्दछौं ।
जनस्तरबाट पनि यस्तो गलत काम गर्नेलाई निरुत्साहित गर्न हामी अपील गर्दछौं । महामारी विरुद्धको जारी यो लडाइँ जित्न पहिले आफु आफ्नै घरमा सुरक्षित रहौं, सावधान रहौं र सजग बनौं ।
शिवराज सुवेदी
प्रमुख
बुटवल उपमहानगरपालिका