रमेश पराजुली
बुटवल, भदौ ५ । हिन्दू नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज आज मनाइँदै छ । भाद्र शुल्क तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यताअनुसार तीज मनाउने चलन रहिआएको छ । तर, यो वर्ष कोरोना भाइरसको महामारीका कारण महिलाहरु घरमै बसेर तीज मनाउँदै छन् । सरकारले कुनै पनि धार्मिक मन्दिरहरुमा नजान सबैलाई आग्रह गरेको छ । कोरोना संक्रमणको त्रासले कतै बन्दाबन्दी त कतै निषेधाज्ञा छ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव–पार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधूर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधू पाउने मान्यता रहेको छ । स्कन्ध, लिङ्ग पुराणमा विभिन्न कथाका आधारमा प्रारम्भ भएको धार्मिक पर्व हरितालिका व्रतको पौराणिक महत्व एकातिर छ भने पौराणिक कथा र आख्यानलाई आत्मसात गर्दै सांस्कृतिक सञ्जीवनीले पनि यो पर्व ओतप्रोत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।
हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् । सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।
यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ । आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गर्दछन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार गरेर पनि तीजको व्रत बस्छन् । तर, यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने होइन ।
विगतका वर्षहरुमा आज बिहानैदेखि पूजाआजका लागि शिव मन्दिरहरुमा व्रतालुहरुको भीड हुने गरेपनि अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मन्दिरहरु बन्द छन् । त्यसैले पनि व्रतालुहरुले कारोना संक्रमण हुनबाट बच्न आफ्नै घरमा पूजाआजा गर्नुपर्ने अवस्था सिर्जना भएको छ । तीजलाई महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका पोख्ने पर्वका रुपमा समेत लिने गरेका छन् ।
बन्दाबन्दीले यातायात बन्द हुँदा धेरै छोरीचेलीको माइत जाने योजना पनि बीचमै तुहिएको छ । विगतका वर्षहरुमा गाउँशहरमा तीज मेला, उत्सव चल्थे । विद्यालय, सामाजिक संघसंस्था, महिलाका संगठनलगायतले गच्छेअनुसार तीज पर्व मनाउँथे, महिलालाई दर खुवाउँथे । यसपालिको तीज पर्व खल्लो र निरस छ । कतैपनि तीजको रमझम छैन । महिलाको स्वतन्त्रताको पर्व घर र कोठामा खुम्चिएको छ । सबैलाई कोरोना महामारीमा ज्यान जोगाउन छ ।
महामारीमा बाँचियो भने चाडपर्व अर्कोवर्ष मनाउँला भन्ने धेरै छन् ।
नेपाल बहुजातीय र बहुसांस्कृतिक देश भएकाले आफ्नो धर्म संस्कृतिअनुसार मनाइने तीज पर्व पछिल्ला केही वर्षयता पर्व मनाउने नाममा तीजको एक महिना अघिदेखि नै भड्किलोरूपमा विभिन्न होटल तथा पार्टी प्यालेसमा दर खाने तथा भेटघाट कार्यक्रम गर्ने, गरगहना प्रदर्शन गर्ने, फजुल खर्च गर्ने, विभिन्न साङ्गीतिक कार्यक्रमका नाममा ध्वनि प्रदूषण गराउनेजस्ता असामाजिक क्रियाकलाप गरी तीज भड्किलो भइरहेपनि यो वर्ष कारोना महामारीले यी सबै कुराहरुलाई नियन्त्रण गरी तीजलाई भड्किलो हुनबाट जोगाएको छ ।
समय परिवर्तन भएको छ । मानिसका सोचाइ पनि फेरिएका छन् ।
समयअनुकूल परिवर्तन जरुरी पनि छ । समयअनुसार बदलिनु पर्छ तर बदलिनु छ भन्दै मा आफ्नो संस्कृति नै जोगाउन नखोज्नु हाम्रो लागि अत्यन्तै घातक हुन सक्छ । नेपाली पहिचान, रीतिरिवाज अर्थात् चालचलन र संस्कृति मात्र होइन, सम्पदा बनेको पर्व जगेर्ना गर्नु हामी सबैको कर्तव्य हो । तीज पर्व हुने खानेको मात्र नहोस् । अनावश्यक खर्च गर्ने यस्तो परिपाटीलाई सधैँका लागि निरुत्साहित गर्न सकिएमा तीज पर्वको महत्व झन् बढ्दै जानेछ ।