बुटवल, भदौ ७ । रुपन्देहीमा भदौ १४ गतेसम्म लकडाउन थपिएको छ । पछिल्लो समय समुदाय स्तरमा कोरोना संक्रमण दैनिक बढेपछि थप एक हप्ता लकडाउन थपिएको हो । आइतबार बसेको जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम केन्द्रको बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्यम लकडाउन भएको निष्कर्ष सहित लकडाउनको समय पुनः थप्ने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताए ।
प्रजिअ पन्थको अध्यक्षता तथा प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको आतिथ्यतामा सम्पन्न भएको बैठकमा सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो । रुपन्देहीमा अब आगामी १४ गते राति १२ बजे सम्म लकडाउन जारी रहनेछ । यसअघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौ २ गतेदेखि आइतबार राति १२ बजेसम्म लकडाउन गरेको थियो ।
यसअघि रुपन्देहीका अलग–अलग पालिका र जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आ–आफ्नै ढंगले लकडाउन गर्ने निर्णय गरेकोमा यस पटक भने सबैले एकरुपताका साथ लकडाउन गर्ने निर्णय भएको प्रजिअ पन्थले बताए ।
लकडाउनको समयमा अत्यावश्यक सेवाका सवारी साधन बाहेक कुनैपनि सवारीसाधन सन्चालन, पसल खोल्न तथा हिडडुल गर्न निषेध गरिएको छ । यसपटकको लकडाउन भने पहिले भन्दा थप कडाई हुने जनाइएको छ ।
पछिल्ला केही दिन यता बुटवलका बिभिन्न स्थानमा गरिएको परिक्षणमा बुटवलमा मात्र १ सय २७ जना तथा रुपन्देही भरीमा ६३१ जना भन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएपछि लकडाउनको म्याद बढाउन दवाव बढ्दै गएको थियो ।