बुटवल, भदौ ८ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापी विधिबाट उपचार शुरू गरिएको छ । कोरोना संक्रमित भएर निको भएका बिरामीको रगतबाट प्लाज्मा छुट्याएर गम्भीर संक्रमित बिरामीलाई दिने प्रक्रियालाई प्लाज्मा थेरापी भनिन्छ । यसले संक्रमित बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।
अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले अस्पतालको भेन्टिलेटरमा उपचाररत ७० वर्षीया महिलालाई प्लाज्मा थेरापी गरिएको जानकारी दिए । डा. थापाले भने, ‘हामीले आजबाट यो सेवा शुरू गर्यौं । अब आवश्यक परेमा निरन्तर जारी राख्छौं ।’
जटिल संक्रमित बिरामीका लागि प्लाजमा थेरापी प्रयोग गर्न सकिन्छ । अंग प्रत्यारोपण भई औषधि खाइरहेका र क्यान्सर रोगका बिरामीसँग इम्युनिटी पावर कम हुने भएकाले त्यस्ता बिरामीलाई कोरोना भाइरस लागेमा प्लाज्मा थेरापीको प्रयोग गर्न सकिन्छ । बुटवलको कोरोना विशेष अस्पतालमा १६ जना बिरामी आईसीयूमा छन् भने २३ जना आइसोलेसनमा छन् ।