बुटवल, भदौ १० । सडक माथिबाट खसेको ढुंगाले च्यापेर दुबै खुट्टा भाँचिएका जीवनलाई रोट्रयाक क्लब अफ सेन्टल लुम्बिनीले उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
प्युठानको नौबहिनी गाउँपालिका वडा नम्बर ८ फोप्ली गैराथोक स्थायि घर भएका कर्णबहादुर पुनका छोरा जीवनको उपचारका लागि क्लबले आर्थिक सहयोग गरेको हो । गत साउन ३० गते बिहान बहाने बजार जाने क्रममा टिम्ले खोला स्थित लम्पुक भीरमा सडक माथिबाट खसेको ढुंगाले च्यापेर जीवनका दुबै खुट्टा भाँचिएका थिए ।
प्युठानबाट उपचारका लागि भैरहवा मेडिकल कलेजमा ल्याएपनि आर्थिक अभावले उनि अस्पतालमा छटपटाई रहेका थिए । ‘स्वार्थ भन्दा माथी सेवा’ भन्ने मुल नारालाई आत्मसात गर्दै आएको र भैरहवामा अवस्थित विभिन्न सामाजिक क्षेत्र तथा मानवीय क्षेत्रमा सक्रिय संस्थाको रुपमा स्थापित रोट्रयाक क्लब अफ सेन्टल लुम्बिनीले सहयोग स्वरुप १५ हजार जीवनका बुवा कर्णबहादुर पुनलाई हस्तान्तरण गरेको छ ।
वर्ष २०२०÷२१ क्लबका अध्यक्ष रो.बाबुराम खनालले हाम्रो एउटा सानो सहयोगले कसैको जीवन बाँच्छ भने हामी त्यो कुराबाट पछाडि नहट्ने कुरा बताउँदै अपुग रकमको लागि पनि विभिन्न समाजसेवी तथा सामाजिक संस्थाहरु सँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जीवनले स्थानिय नेपाल राष्ट्रिय आधारभूत विद्यालय कक्षा ७ मा पढ्दै आएका थिए । कर्णबहादुरका १० बर्षकी छोरी पनि छन् । कर्णबहादुरले आर्थिक अभावले आफ्ना छोराको उपचार रोकिएकाले छोराको ज्यान बचाउँन सहयोग गरिरदिन सबैलाई अनुरोध गरेका छन् ।