बुटवल, भदौ ११ । बुटवल धागो कारखानास्थित कोरोना बिशेष अस्पतालमा कपिलवस्तुका १ जना संक्रमितको मृत्यु भएको २४ घण्टा नबित्दै अर्का संक्रमितको मृत्यु भएको छ । रुपन्देही तिलोत्तमा जानकीनगरकी ७० बर्षिया महिलाको कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
थाईराइड र हाई ब्लड प्रेसरको समेत बिरामी रहेका संत्रमितको बिहिबार बिहान १०ः३० बजे मृत्यु भएको हो । साउन २६ मा संक्रमण पुष्टि भएकी उनको घरमा आइसोलेशनमै बसेर उपचार जारी थियो। घरमा उपचारका क्रममा स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि साउन ३१ गते बुटवल कोरोना अस्पतालमा भर्ना गरिएको थियो । तिलोत्तमामा कोरोना संक्रमणबाट भएको यो पहिलो मृत्यु हो भने रुपन्देहीमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।