काठमाडौं, भदौ १२ । नेपालमा पछिल्लो समय कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहेको छ । शुक्रबार मात्रै कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ सय ९५ पुगेको छ ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार शुक्रबार ४ जना महिला र ८ जना पुरुषको मृत्यु भएको छ । उनका अनुसार मृतक महिलामा मोरङका २ तथा भक्तपुर र मकवानपुरका १÷१ जना रहेका छन् । यस्तै पुरुषमा उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका १÷१ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा.गौतमका अनुसार शुक्रबार थप ९ सय २७ जनामा कोभिड–१९ का संक्रमित थपिएका छन् । जसमा ३३४ महिला र ५९३ जना पुरुष रहेका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । शुक्रबार थप १ सय ६९ जना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या २० हजार २४२ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा.गौतमका अनुसार शुक्रबार प्रदेश १ का जिल्लाहरुमा इलामका एकजना, उदयपुरका एकजना,ओखलढुंगाका एकजना, झापाका १५ जना, पाँचथरका २ जना, मोरङका ४७ जना, संखुवासभाका २ जना, सुनसरीका ४१ जना, सोलुखुम्बुका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका २० जना, पर्साका एकजना, बाराका ४ जना, महोत्तरीका १३ जना, रौतहटका २१ जना, सप्तरीका ७ जना, सर्लाहीका १३ जना र सिरहाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३५० जना, काभ्रेका १७ जना, चितवनका २६ जना, धादिङका १६ जना, नुवाकोटका ३ जना, भक्तपुरका ५४, मकवानपुरका ५१ जना, रसुवाका एकजना,ललितपुरका ११ जना, सिन्धुपाल्चोकका एकजना र सिन्धुलीका २ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका १६ जना, गोरखाका एकजना, तनहुँका ४ जना, नवलपरासी पूर्वका ११ जना, लमजुङका २ जना र बाग्लुङका एक जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका २ जना,कपिलवस्तुका २ जना, दाङका एकजना, नवलपरासीका २ जना, बर्दियाका २ जना, बाँकेका ३६ जना, रुपन्देहीका ७२ जनामा कोरोना पुष्टि भएको छ ।
डा. गौतमका अनुसार कर्णाली प्रदेशका जिल्लाहरुमा जुम्लाका ६ जना, दैलेखका ११ जना र सल्यानका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका एकजना, कैलालीका ११ जना, डोटीका ९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस्
रुपन्देहीमा एकैदिन ५२ संक्रमित थपिए