काठमाडौं, भदौ १६ । नेपालमा मंगलबार थप १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ । उनका अनुसार संक्रमितको कुल संख्या जम्मा ४० हजार ५२९ पुगेको हो । यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको गौतमले जानकारी दिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ। यस्तै संस्थागत आइसोलेशनमा १० हजार ८३२ र होम आइसोलेशनमा ७ हजार २८० जना रहेका छन् । १२ हजार ८८ जनाको पीसीआर परीक्षण भएको गौतमले बताए ।
यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७६८ रहेको छ भने कुल निको हुनेको संख्या २२ जहार १७८ रहेको छ ।