अर्घाखाँची, भदौ २२। अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाले उप–प्रमुख खडानन्द बेल्वासेले विकास निमार्णको कार्यमा पटक–पटक अवरोध गरेको बताएका छन् । नगरपालिकामा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘नगरपालिकाको कामप्रति सबै क्षेत्र र जनताबाट सकरात्मक प्रतिकृया आइरहेको अवस्थामा पनि उप–प्रमुख बेल्वासेले कपोकलपित तथा पूर्वाग्रहमा आधारित भई जनतालाई दिगभ्रमित पार्ने गरी अभिव्यक्ति दिने गरियो ।’ थापाले विकास र सुशासनको सवालमा नगरपालिकाले कसैसँग सम्झौता नगरी अगाडि बढेको बताए ।
उनले एकपक्षीय रुपमा उप–प्रमुखले पत्रकार सम्मेलन गरी गलत प्रचार गरेको भन्दै सप्रमाणसहित पालिकाले निर्णय गरेको निर्णयहरु समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए । पालिकास्तरमा निर्माण हुन लागेको १५ शैयाको अस्पताल निमार्णको लागि मापदण्डबमोजिम कार्यपालिकाको बैठकले गरेको निर्णयको बारेमा जानकारी गराउँदै पालिकाको निर्णयसमेत सार्वजनिक गरेका थिए । उनले भने,‘आफैँ बसेर निर्णय गर्ने, हस्ताक्षर पनि गर्ने अनि कीर्ते भनेर आफैँ प्रचार गर्ने र आफूले आफैँ गलत भएको भन्दै प्रचार गर्ने ? यो खालको गलत प्रवृत्तिको खेद प्रकट गर्दछु ।’
प्रमुख थापाले नगरपालिकाले आफ्ना कार्यहरु छोटो अवधिमा पनि विकास निमार्णका कार्यहरु सडक निमार्ण, स्तरोन्नति, खानेपानी, शिक्षा, सिँचाइ, कृषि र स्वरोजगारलगायतका क्षेत्रमा महत्वपूर्ण कामहरु गरेको पत्रकार सम्मेलनमा जानकारी गराए । नगरपालिकालाई भ्रष्टाचारमुक्त पालिका बनाई जनताको करबाट सञ्चित बजेटलाई सही रुपमा सदुपयोग गर्नुपर्छ भनी आफूले दृढताका साथ काम गर्दा विभिन्न पक्षबाट पटकपटक अवरोध सहनु परेको उनले गुनासोसमेत व्यक्त गरेका थिए ।
नगर उप–प्रमुख बेल्वासेले राष्ट्रिय जनमोर्चाको पालिकामा बहुमत देखेपछि जनमोर्चाको एजेन्डाका पछि लागि आम नगरवासीलाई दिगभ्रमित पार्न खोजेको थापाको आरोप छ ।