काठमाडौं, भदौ २३ । नेपालमा मंगलबार थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ थियो ।
उस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३२ हजार ९६४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
मन्त्रालयका अनुसार मंगलबार थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै ज्यान गुमाउनेको कुल संख्या ३०६ पुगेको छ ।