बुटवल, भदौ २६ । बुटवलको कोरोना विशेष अस्पतालमा थप एकजना संक्रमितको मृत्यु भएको छ । नवलपरासी पश्चिमका एक पुरुषको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान ११ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले पुष्टि गरे । थापाका अनुसार ती व्यक्ति कलेजोसम्बन्धी समस्या र मधुमेहले पीडित थिए ।
ज्वरो आउने, खोकी लाग्ने समस्या देखिएपछि उनलाई १९ गते नै अस्पताल ल्याई पीसीआर परीक्षण गरिएको थियो । यससँगै उक्त अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ । अस्पतालमा सामान्य कक्षमा ३५, आईसीयूमा १७ र भेन्टिलेटरमा दुई जना उपचाररत छन् ।