बुटवल, भदौ २७ । लायन्स क्लब अफ बुटवल बेलबास सिर्जनशीलले शनिबार बुटवल–१३ बेलबासमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण लामो समय लकडाउन भएकोले रक्त सञ्चार केन्द्रमा रगतको अभाव भई अस्पतालमा बिरामीहरुलाई समस्या परेको हुँदा क्लबले खुल्ला रक्तदान गरेको हो ।
कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ । जिएमटी कोडिनेटर लायन दिपक श्रेष्ठको प्रमुख आथित्यता तथा लायन्स क्लब अफ बुटवल सिर्जनशीलका अध्यक्ष बिमला गैरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष गैरेले कोरोना भाइरसको संक्रमणबाट विश्व नै आक्रान्त बनिरहेको बेला रगत संकलनमा समस्या भइरहेको र यो अवस्था अझै लम्बिएर जाने हो भने देशमा रगतको अभाव हुनेसक्ने बताउँदै महामारीको समयमा कुनैपनि बिरामीले अस्पतालमा रगत नपाएर अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइन् ।
साथै कार्यक्रममा समाजसेवी तथा बुटवल–१३ का जनप्रतिनिधि वेदप्रसाद गैरै, यरिया चिफ सन्दिप कसौधन, वेदप्रसाद गैरै, रिजन चियर प्रसन शिवलाल उपाध्याय, शोभाखर पोखरेल, ओमकार आचार्यलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले महामारीका बेलामा पनि महत्वपूर्ण काम गरेको भन्दै सराहना गरेका थिए । उक्त क्लबले यसअघि पनि विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।
वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धनका लागि वृक्षरोपण, कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाहरुलाई मनोबल बढाउने कामका साथै पौष्टिक आहार वितरणलगायतका कामसमेत गर्दै आएको छ । स्थापना भए यता यो क्लबले विभिन्न सामाजिक काम गरेर प्रसंशा बटुलेको छ ।