काठमाडौं, भदौ २८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को पिसीआर परीक्षण शुल्क रु दुई हजार तोेकेको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब सबै प्रयोगशालाले पिसीआर परीक्षणको अधिकतम शुल्क रु दुई हजार तोकिएको जानकारी दिए ।
सरकारी तथा निजी अस्पताल वा प्रयोगशाला सबैले घटेको शुल्कमा पिसीआर परीक्षण गराउनुपर्ने हुन्छ । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पिसीआर परीक्षणको शुल्क पुनरावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटेको बताए । बजारमा रिएजेन्ट र पिसीआरका अन्य सामानको मूल्य घटेको आधारमा परीक्षण शुल्क पनि घटाइएको उनले जानकारी दिए ।
यसअघि मन्त्रालयले पिसीआर परीक्षणका लागि रु चार हजार ४ सय तोकेको थियो । त्यस भन्दाअघि पिसीआर परीक्षणका लागि मन्त्रालयले रु पाँच हजार ५०० शुल्क तोकेको थियो । नेपालमा अहिलेसम्म आठ लाख ४० हजार ५२७ जनाको पिसीआर परीक्षण गरिएको छ । त्यसमध्ये ५४ हजार १५९ जना संक्रमित भएका छन् । दैनिक करिब १० हजारको संख्यामा पिसीआर परीक्षण भइरहेको छ ।
सरकारले सर्वसाधारण सबैलाई निःशुल्क परीक्षण गर्दै आइरहेको छ भने सशुल्क परीक्षण गराउन इच्छुक व्यक्तिले मन्त्रालयले तोकेको अस्पताल वा प्रयोगशालामा गई परीक्षण गराउन सक्ने व्यवस्था गरेको छ । अहिले ४७ सरकारी प्रयोगशालामा पिसीआर परीक्षण हुँदै आइरहेको छ ।
यसैगरी मन्त्रालयले बंगलादेशबाट आएको रेम्डेसिभिर खोप नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिकाअनुसार प्रयोग गर्न सूचिकृत भएका अस्पतालमा बिरामीको चाप हेरेर वितरण गर्न निर्देशन दिएको उनले जानकारी दिए । उक्त खोपको सम्पूर्ण वितरण परिषद्ले प्राप्त गरी मन्त्रालयमा पेश गर्नसमेत भनिएको छ । सरकारले बंगलादेशबाट पाँच हजार सो खोप प्राप्त गरेको उनले जानकारी दिए ।
यसैबीच बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा २ हजार ५ सय रुपैयाँमै पिसिआर जाँच हुने भएको छ । जनतालाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालले मूल्य समायोजन गरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालले सोमबारदेखि २५ सय रुपैयाँमा कोरोना जाँच गर्न सकिने बताए ।
‘सुरुमा ५५ सय त्यसपछि ४४ सय अब २५ सयमै पिसिआर जाँच गर्ने भएका छौं । त्यस्तै जाँचको क्षमता पनि दोब्बर दैनिक ४ सय स्वाब जाँच हुनेछन् ।’ खनालले थपे, ‘सरकारले फेरि शुल्क घटाएको भन्ने कुरा आएछ । हामीकहाँ दुईचार दिन यहीँ शुल्क रहन्छ ।’ त्यस्तै अस्पतालले शंकास्पद ‘फिभर’क्लिनिकमा आएका बिरामी र भर्ना भएका बिरामीको भने पिसिआर निःशुल्क गर्दै आएको छ । स्वाब दिएको २४ घण्टाभित्र रिपोर्ट आउनेछ ।
अस्पतालको प्रयोगशालाले अहिलेसम्म १२ हजार ९ सय पिसिआर जाँच गरिसकेको छ । पछिल्लो समय बुटवलमा कोरोना संक्रमण तीव्र भएको छ । बुटवलमा मात्रै संक्रमितको संख्या ५ सयभन्दा माथि छ । अन्तर्राष्ट्रिय बजारमा किटको मूल्यमा भारी गिरावट आएसँगै नेपालमा पनि पिसिआर टेस्टको शुल्क घटाइएको कम्पनीका सञ्चालक भीम भण्डारीले जानकारी दिए । उनकाअनुसार अन्तर्राष्ट्रिय बजारमा एउटा पिसिआर टेस्ट किटको मूल्य १६०० रुपैयाँ पर्छ । त्यतिबेला सरकारले पिसिआर टेस्टमा ५५ सय रुपैयाँसम्म उठाउन पाउने व्यवस्था गर्दा विधले ४ हजार रूपैयाँ मात्र लिएको थियो ।
अहिले अन्तर्राष्ट्रिय बजारमा पिसिआर टेस्ट किटको मूल्य ८ सय रूपैयाँमा झरेको छ । ल्याबमा अहिले ड्यान जिन कम्पनीको पिसिआर टेस्ट किटको प्रयोग गर्ने गरिएको छ । पिपिईलगायत स्वास्थ्य सामग्रीको खर्चसमेत कम भएकाले आइतबारदेखि पिसिआर टेस्टको शुल्क २ हजार रुपैयाँ कायम गरिएको भण्डारीले जानकारी दिए । एउटै पिसिआर टेस्टमा धेरै नाफा राख्नुभन्दा थोरै नाफा राखेर धेरै टेस्ट गर्नु संस्था र राज्यका लागि फाइदाजनक हुने भएकाले नयाँ शुल्क लागू गरिएको भण्डारीले बताए ।