पाल्पा, असोज ९। बिहीबार बिहान जिल्लाको रम्भा गाउँपालिका–२ मा गएको पहिरोमा वेपत्ता भएका ५ जनामध्ये थप २ जनाको शव फेला परेको छ । हिजो अविरल वर्षाका कारण उद्दार कार्य हुन नसकेकाले आज विहानैदेखि उद्दार कार्य सुरु गरिएको थियो । आज दिउसो २ महिलाकोे शव फेला परेको जिल्ला सशत्र प्रहरी बल पाल्पाका प्रमुख डीएसपी अरुण सिंहले जानकारी दिए ।
पहिरोमा फोक्सीङ्गकोट बेलौजाका हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिएको थियो । पहिरोले घर पुरिदा ६० वर्षीय हुम बहादुर गाहा, उनकी श्रीमती ५० वर्षीया धनिसरा गाहा, छोरी १७ वर्षीया कृष्णमाया गाहा, मामाघर आएकी नातिनी १४ वर्षीया खुमीसरा आले र मनबहादुरकी नातिनी ८ वर्षीया लक्ष्मी गाहा बेपत्ता भएका थिए । बेपत्ता भएका ६ जनामध्ये १ जना फोक्सिङकोट सुरुङडाँडाकी २७ वर्षीय मोतिसरा गाहाको शव भने हिजो नै भेटिएको थियो ।