बुटवल, असोज १८ । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी सार्ने प्रस्तावको विरोध गर्दै आइतबार पनि बुटवलमा बिहानैदेखि आन्दोलन चर्कीएको छ । नेपाली कांग्रेस र रुपन्देहीका बिभिन्न संघसंस्थाहरुले बिहानैबाट नाराबाजी गर्दै विरोध प्रदर्शन गरीरहेका छन् ।
राजधानीकै बिषयमा विवाद बढ्दै गएपछी रुपन्देही प्रशासनले जारी गरेको निषेधाज्ञाका बावजुद संघर्ष समितिको अगुवाइमा रुपन्देहीका व्यावसायिक संघसंस्थाले बुटवलको राजमार्ग चौराहाबाट जुलुस निकालेका छन् । उक्त जुलुस ट्राफिकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुद्र जिसी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेमबहादुर हमाल, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एजाज आलम, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष माधव पौडेल लगायतले बुटवलबाट राजधानी सार्ने प्रस्ताव तत्काल फिर्ता लिन माग गरेका छन् ।
प्रदेश ५ को स्थायी राजधानी बुटवल नै उपयुक्त रहेको भन्दै उनिहरुले सासंदहरुलाई प्रस्तावको विपक्षमा मतदान गर्न आग्रह गरेका छन् । साथै उनिहरुले प्रदेशसभामा पेस भएको उक्त प्रस्ताव फिर्ता नभएमा आफूहरुले आन्दोलनलाई अझै चर्काउने बताएका छन् ।
त्यस्तै सोही प्रस्तावको विरोध गर्दै नेपाली कांग्रेसले आह्वान गरेको रुपन्देही बन्दको प्रभाव बुटवल क्षेत्रमा परेको छ । बन्दका कारण मुख्य सडकमा अत्यावश्यक गाडी मात्रै फाट्टफुट्ट चलेका छन् । पसल, व्यवसाय बजार बन्द छन् ।
मुख्य राजमार्गमा सुरक्षाकर्मीको संख्या बढाइएको छ । बुटवलको राजमार्ग चौराहादेखि, मिलनचोक, बसपार्क, अस्पताललाइन, ट्राफीक चोक, नेपालगन्ज रोड, तिलोत्तमाको मणिग्राम, भैरहवा लगायतका स्थानमा बिहानैदेखि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश सभामा दर्ता भएको राजधानी सार्ने प्रस्ताव पास गराउन ह्वीप लगाउने निर्णय गरेर मुख्यमन्त्री शंकर पोखरेल भने शनिबार काठमाडौं गएका छन् । मुख्यमन्त्री पोखरेल प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य नेताहरुसँग थप छलफल र परामर्शका लागि काठमाडौँ गएको बताइएको छ ।
बुटवलबाट राजधानी सार्ने प्रस्तावको विरोध गर्दै आजपनी प्रदर्शन
