बुटवल, असोज १९ । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा सार्ने प्रदेश सरकारको प्रस्तावविरुद्ध संयुक्त संघर्ष समिति रुपन्देहीले सोमवार संसद भवन घेराउ गर्ने विरोध कार्यक्रम राखेपनि नेपाल प्रहरी र शसस्त्र प्रहरीले संसद भवन जाने बाटो बन्द गरेको छ ।
आज विहानैदेखि प्रदेशसभा कार्यालय क्षेत्रमा विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शन भएपनि संसद भवन जाने बाटो पूर्वपश्चिम राजमार्ग अन्तर्गत नेपालगञ्ज रोडस्थित सिन्दूर होटल अगाडि सशस्त्र प्रहरीको बाक्लो घेराले आन्दोलनकारीहरुलाई रोकीरहेका छन् ।

रुपन्देही जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेपनि निषेधाज्ञा बाबजुद प्रदर्शन चलिरहेको छ । संघर्ष समितिले रुपन्देहीबाट कुनै पनि हालतमा दाङमा स्थायी राजधानी लैजान नदिने अडान लिँदै आएको छ । आइतबार साँझ मुख्यमन्त्री सवार गाडीमा ढुङ्गा प्रहार भएपछी सोमबार बुटवल क्षेत्रमा प्रहरी परीचालन गरी सुरक्षामा व्यवस्थामा थप कडा गरीएको छ ।
प्रदेश सरकारले गत शुक्रबार प्रदेशसभामा पेश गरेको राजधानी र नामाकरण प्रस्तावमाथि आजदेखि छलफल शुरु गर्ने गरि कार्यसूची तय गरेको छ । आज मध्यान्ह १२ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ ।


