पुष्कर घिमिरे
निम्न वर्गीय समाजमा गरिबको रेखामुनि जन्म भई समाजको संस्कारलाई आँखाको घेराबन्दीमा राखी जीवन अगाडी बढाएको एक पात्र हुँ । पूर्वीय अध्ययन र शास्त्रलाई महत्व राखी धार्मिक गन्थ्रको सामाजिक योद्धा मेरा पिता एक गरिब परिवारका धरोहर हुनुहुन्थ्यो । गरिबको रेखामुनि बसी भोक र पीडालाई पन्छाएर एसएलसीसम्म पढाउने मेरा हजुर बा, धार्मिक, सामाजिक कार्य र आफू मुनिका निम्न वर्गीय मानिसहरुको हेरचाहमै व्यस्त हुनुहुन्थ्यो ।
भनिन्छ नि, आफ्नो घर भत्किदाँ पनि अरुको घर बनाउँदै हिँड्ने बालाई घर परिवारको वास्ता भएन । बुवा जीवनको संघर्ष र पारीवारिक स्थितिको सामना गर्दै, विहान साँझ घरको काम दिउँसो स्कुल, प्राइभेट अध्ययन र अस्थायी जागीर गर्दै दुःख, पीडा, पसिनाको मुल्य बुझ्र्दै २०६३ सालमा आफ्नो सपना र लक्ष्यको ढोका खोल्न सफल हुनुभयो । यही संस्कारको घेरा बिन्दुभित्र बसी आफ्नो जिम्मेवारी र दायित्वलाई सम्हाल्दै, जीवनको गोरेटोलाई अंगाल्दै, पारिवारीक शिक्षा दिक्षालाई ध्यानमा राखी सन्तानलाई सरकारी सेवाको महत्व र आबद्ध गराउने सपनाका भोगी मेरा पिताले २०६९ सालमा एसएलसी पास गराउनु भयो ।
अविकसित देशको विकट गाउँमा जन्म लिई सरकारी जागिर खाने सपना बोकेपनि बाबुआमाको काख छोड्न त्यति सजिलो त कहाँ हुन्छ र ? पढ्ने रहर, सरकारी जागिरको शोक, सहर बस्तीमा बलेको त्यो झिलिमिली उज्यालोले एक मन त खुसी नै होला, दिन रमाइलै बित्ला भन्ने थियो तर आमाबुवाले आफ्ना सन्तानका लागी गरेको दुःख अनि छोराको सपना पुरा गर्न, सहर पठाउँदाको ऋणको भारी अहँ मैले भूल्न सकिनँ र मन खुसी हुनसकेन । त्यो दिन आमाले छोराका लागी भनेर पारीदिएका खानेकुराका पोका, अर्को दिन झोलामा कसी आर्शिवाद सहित घर छोड्दा आमाबाबुका आँखाबाट झरेका आँसुले मन अझै पिरोली रहन्छ तर घर कोख छोड्न बाध्यता नै थियो । ती पोका र टाउकोमा ऋणको भारी देख्दा त लाग्छ आमाबावुलाई भगवान भन्दा पनि आफ्ना सन्तानको खुसी ठुलो रहेछ ।
सहरको बाक्लो बस्ती, इट्टा र सिसैसिसाका ठुला घर त्यस सहरको एक कोठा भित्रको एक एक्लो पात्र म गाँउबाट झरी सहरको एक मेडिकल कलेजमा हे.अ. पढ्न भर्ना भएको म साथीहरुले अंग्रेजी बोल्न नजान्दा गिज्जाएको मनमा अझै ताजै छ । लाग्छ, सहरका शव्य र शिक्षित भनिने मानिसहरुमा मानवता खोज्न र सहरका घर जोडिएजस्तै मन जोडिन निके गाह्रो रहेछ । बावुको टाउकोमा ऋणको भारी, पसिनाको मुल्य सम्झिदा रातदिन एक्लो जीवन बत्तिको साहरा र संगतले धेरै रात किताबको पाना पल्टाउँदै बिते त कुनै रात आकाशका तारा हेर्दै बिते ।
बाबुआमालाइ हे.अ. पूर्ण पास भएको खबर सुनाउदाँ केही खुसी र आनन्द देखिए पनि तर म बुझ्छु सपना ठुलो थियो । सफलताका सिढि धेरै थिए त्यहि भएर मन भित्रको खुसी भेट्न सकिनँ । सामाजिक संस्कार, धार्मिक ग्रन्थ, रीतिरिवाज र संस्कृतमा रुचि देखाउने म कसरी डाक्टरी पेशामा लागे पत्तै पाइनँ, जतिबेला सेतो ऐप्रोनमा सजिएर घाँटिमा आला झुन्डाएर बिरामीलाई चेक गर्न पाउँदा आफु, बावुआमा, गाँउ नै खुसी भयो । जब जीवनको सपना र उदेश्यलाई रोज्दै गोरेटो बाटोमा पाइला अगाडि बढाउदैं २०७४ सालमा सरकारी सेवाको ढोकामा घण्टी बजाउन सफल भएको थिए । त्यति बेला मेरो बावुआमा आफन्त र भलो चाहने सम्पूर्ण खुसी देख्दा अझ हौसलाको वर्षात प्राप्त भएपनि कहिले काँहि भाग्यलाई भन्दा कर्मलाई विश्वास गरी अवसरवादी सेवाको सूचीमा मन बझाउन पर्छ ।
लाग्यो असफलताले ठुलो सफलताको बाटो डोर्याउँछ भने अर्कोतर्फ हातमा आएको फल खोसियो जस्तैः सरकारी सेवाको सपनामा पूरा गर्दैगर्दा अर्को वर्ष पनि उही प्रकिया दोहोइदाँ सपना अपुरो र झन् मनमा खिन्नता, नैराश्यता छाई सरकारको सेवाका लागि अझै कर्मको कमी भएको अनुभूत भयो । प्रयास र मेहेनतको कमी भएजस्तेै अनि भाग्य र भगवान्ले जे लेखे त्यहि हुन्छ भने जस्तै भयो । सरकारको नुन खाने अस्थायी कर्मचारीमा २०७५ सालमा गुल्मी अस्पतालमा नियुक्ति भएपनि मनको चोट जिवितै छ । सरकारले हाम्रो क्षेत्रमा हामी जस्तो योग्य व्यतिm सेवामा लिन नखोजेको पनि २ वर्ष भएछ सरकार निदाएरै बसेजस्तै लाग्छ हामी रातदिन नसुतेको निदा्र कतै सरकारलाई त लागेन ।
अर्कोतर्फ हाम्रो समाजका मानिसमा चेतनाको विकास अझै हुन सकेको छैन किनकी सेवा सुविधा गुणस्तर एउटै भएपनि स्थायी र अस्थायी भनी हेर्ने र हेप्ने प्रवृत्ति जातिय विभेद जस्तै ताजै र जिवितै छ । कर्मचारीहरुबीच पनि हेर्ने र हेप्ने प्रवृत्ति अझ ठूलो आकाश र जमिनजस्तै विभेद बत्ति मुनिको अध्याँरोजस्तै देख्न सकिन्छ । लड्ने मानिस अझ बलियो भएर उड्छ भनेझैँ समाज र साथीसंगी सेवाप्रतिको भिन्नता, सेवाको लोकप्रियता, सेवाप्रतिको आकर्षणले गर्दा हौसला र उत्साहित थप्दै मलाई अधूरो सपना र लक्ष्य पूरा गर्न अझ भोक बढाइरहेको छ ।