बुटवल । प्रदेश सरकारको बुटवलबाट स्थायी राजधानी दाङ सार्ने प्रस्तावबाट असन्तुष्ट नेकपाका कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् । रुपन्देहीमा क्रियाशिल नेकपा सम्बद्ध भातृ संगठन तथा व्यवसायीक संस्थामा रहेका कार्यकर्ताहरुले केही समयअघि पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको औपचारीक घोषणा गरेका छन् । रुपन्देहीका विभिन्न संघसंस्थाका २ हजार बढी नेकपा कार्यकर्ताले सामुहिक राजिनामा पत्रमा हस्ताक्षर गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
राजिनामा सार्वजानिक गर्न आयोजित पत्रकार सम्मेलनमा रुपन्देही ब्यापार संघका पुर्व अध्यक्ष मोतिलाल पाण्डे, उद्योग परिसंघका अध्यक्ष एजाज आलम, होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघका अध्यक्ष समुन्द्र जीसी, पर्यटन ब्यवसायी माधव नेपाल, रुपन्देही ब्यापार संघका अध्यक्ष याम लोहनी, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, पश्चिम नेपाल यातायात ब्यवसायी प्रा.लिका संचालक नारायण घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
उनीहरुले जनभावना अनुरुप पार्टी नचलेको, औचित्य बिना प्रदेशको राजधानी सार्न खोजिएको, निर्वाचनको प्रतिबद्धता पुरा गर्न नसकेको भन्दै पार्टी परित्याग गरेको बताएका छन् ।