स्काउटको लुम्बिनी प्रदेश समिति गठन
बुटवल, मंसिर १४ । मुख्यमन्त्री शंकर पोखरेलले युवाशक्ति नै देशको मेरुदण्ड भएको उल्लेख गर्दै युवालक्षित कार्यक्रमद्वारा देशको आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरणको अभियान सफल हुने बताउनुभएको छ । स्काउटका प्रदेश संयोजक समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले युवालक्षित कार्यक्रममार्फत प्रदेशको समृद्धि र खुशहालीको अभियान साकार पर्न सकिने भन्दै सोही अनुरुपका योजना तय गर्न प्रदेश सरकार मातहतका मन्त्रालयलाई आग्रह गर्नुभयो ।
नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरीय तदर्थ समितिको आइतबार बुटवलमा आयोजित दिक्षान्त एवम् पद तथा गोपनियताको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले युवाहरूलाई जिम्मेवार नागरिक बनाउने अभियानमा स्काउटलाई केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी प्रदेश स्तरीय नेपाल स्काउटको तदर्थ समितिलाई आइतबार बुटवल उपमहानगरपालिका सभाहलमा एक समारोहका बीच दिक्षित एवम् पद तथा गोपनियताको सपथ ग्रहण गराइएको थियो ।
प्रदेशको प्रमुख स्काउट समेत रहनुभएका लुम्बिनी प्रदेश स्तरीय नेपाल स्काउटको तदर्थ समितिका संयोजक, सदस्य तथा सल्लाहकारहरुलाई लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले दिक्षित गराउनुभएको थियो । युवाशक्तिको भौतिक, बौद्धिक, सामाजिक, आध्यात्मिक तथा भावनात्मक विकास गर्ने लक्ष्यलाई व्यवहारमै उतार्नु उहाँले आग्रह गर्नुभयो ।
उक्त समारोहमा लुम्बिनी प्रदेश सभामा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकाल, बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य, नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीलगायतले रचनात्मक काममा केन्द्रित हुन स्काउटलाई आग्रह गर्नुभएको थियो ।
नेपाल स्काउट ऐन, २०५० अन्तर्गत नेपाल स्काउटको संगठन स्वरुप राष्ट्रिय परिषद्, प्रदेश परिषद्, राष्ट्रिय कार्यकारी समिति र सल्लाहकार सभा रहेको छ । सोही अनुरुप लुम्बिनी प्रदेश स्तरीय स्काउटको तदर्थ समिति गठन भएको हो । जसको संयोजकमा रुपन्देहीका दिनानाथ भट्टराई रहनु भएको छ । प्रदेशका उमेर समूहका बालबालिका तथा युवा वर्गलाई स्काउटमा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाउँदै समृद्ध प्रदेशको अभियानमा केन्द्रित गराउन भूमिका निर्वाह गर्ने संयोजक भट्टराईले प्रतिबद्धता जनाउनुभयो ।
भट्टराईको संयोजकत्वमा गठित १६ सदस्यीय नेपाल स्काउट लुम्बिनी प्रदेश तदर्थ समितिलाई दिक्षान्त समारोहमार्फत पद तथा गोपनियताको सपथ ग्रहण गराइएको हो । उक्त समितिका सदस्यहरुमा मुकुन्द सुचिकार (नवलपरासी पश्चिम) खुमाकान्त अधिकारी (रुपन्देही), सिर्जना आचार्य (अर्घाखाँची), जीवन आचार्य (पाल्पा), सन्दिप अधिकारी (नवलपरासी पश्चिम), भगवति न्यौपाने (कपिलवस्तु), कल्पना हरिजन (रुपन्देही रहेका छन् ।
यस्तै दिपक गौली मगर (बाँके), रबिन अली (दाङ), दुर्गा घायल (गुल्मी), भरत अर्याल (गुल्मी), सन्दिप आचार्य (कपिलवस्तु), नारायण अर्याल (रुपन्देही) तथा शुसिला गोदार (पाल्पा) र कपुर घिमिरे (गुल्मी) स्काउटको प्रदेश स्तरीय तदर्थ समितिको सदस्य रहनुभएको छ ।
आठ सदस्यीय सल्लाहकार समिति
लुम्बिनी प्रदेश स्तरीय नेपाल स्काउटका आठ सदस्यीय सल्लाहकार समिति चयन भएको छ । जसमा यज्ञबहादुर सिंह ओली (दाङ), रसुजंग राणा (नवलपरासी पश्चिम), सुमन आचार्य (रुपन्देही), गुणाकर गैरे (कपिलवस्तु), ईश्वर पोखरेल (बाँके), लोकनाथ न्यौपाने उपाध्याय (रुपन्देही), दामोदर भुषाल (रुपन्देही) र कृष्ण खनाल (रुपन्देही) रहेका छन् ।
नेपाल स्काउटको उद्देश्य
नेपालमा स्काउट विसं.२००९ सालमा (सन् १९५२) स्थापना भएको हो । यो हालसम्म निरन्तर रूपमा देशका ७७ वटै जिल्लामा क्रियाशील छ । अनुशासन, साहस एवं सहयोगलाई मूल मन्त्र मानेर अघि बढ्ने स्काउटले १४ वर्षदेखि माथिका मानिसलाई समेट्ने गरेको छ ।
विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासंग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउँदै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने । बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने । दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने, गराउने ।
सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्ने गराउने । समाजका हरेक वर्ग तथा समुहलाई शिक्षित पार्न प्रौढ शिक्षालगायत विभिन्न कार्यक्रमहरू संचालन गर्ने, गराउने । स्वास्थ्य, वातावरण, भू–संरक्षण तथा प्राकृतिक श्रोतको उपयोग सम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम संचालन गर्न युवा जनशक्ति परिचालन गर्ने, गराउने ।