पार्बती आचार्य
कपिलवस्तु, पुस २६ । कपिलवस्तु नगरपालिकाले हिउँदे अधिवेशन तथा आठौँ नगर सभा सम्पन्न गरेको छ । ‘समृद्ध नगर खुशी नगरवासी: स्थिर र दिगो विकासको दाबी’ भन्ने नाराका साथ सभा सम्पन्न गरेको हो । सो अवसरमा मेयर किरण सिंहले नगरलाई टिनको छानोमुक्त, पूर्ण खोप, बालमैत्री शासन घोषणाका लागि कार्यहरु तीव्ररुपमा अगाडि बढाइएको बताए ।
पर्यटकीय नगरी कपिलवस्तु नगरपालिकालाई सुन्दर र हराभरासहित विकासको गति बढाउनका लागि योजनाबद्ध रुपमा अघि बढ्ने जानकारी दिए । उनले तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक समन्वय र पहलसमेत गरेको बताए । आर्थिक वर्षमा शिक्षा स्वास्थ्य र पर्यटन विकास र आय आर्जनमा जोड दिने बारेमा समेत जानकारी दिएका थिए ।
उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले गत साउनदेखि पुस २३ गतेसम्म गरेका कामको प्रगति प्रतिवेदन विवरण प्रस्तुत गरेका थिए । वडास्तर र पालिकाको कार्यक्रम, नाम विषय संशोधन रकम नबढ्ने गरी स्थानान्तरणसमेत गरिएको थियो ।
कार्यक्रम मेयर किरण सिंहको अध्यक्षतामा सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपमेयर लक्ष्मी गुप्ता साव, कार्यपालिकाका सदस्यहरु, वडा अध्यक्षहरु, सदस्यहरुलगायतको सहभागीता रहेको नगरका सामाजिक सल्लाहाकार सुरेन्द्रराज लम्सालले जानकारी दिए ।