बुटवल, पुस २८ । बदलिँदो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल–६ को दशौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन मंगलबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले प्रकाश गैरेको अध्यक्षतामा सहकारीको नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा नरबहादुर रजाली, सचिवमा बसन्ती न्यौपाने र कोषाध्यक्षमा तुलसीराम पाण्डे चयन भएका छन् । त्यस्तैगरी सदस्यहरुमा गणेश बस्याल, अनिल पाण्डे, सुशील न्यौपाने, मिना घिमिरे, सत्यवती नेपाल, हरिप्रसाद उपाध्याय र रामप्रसाद श्रेष्ठ चयन भएका छन् । त्यस्तै लेखा समितिको संयोजकमा टोपलाल घिमिरे रहेका छन् । साधारणसभाको उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय सहकारी संघका सञ्चालक रामकृष्ण खाँणले सहमति, सहकार्य र एकताबाटै सहकारीलाई उन्नतिको पथमा अगाडि बढाउन सकिने बताए । उनले सहकारीहरुले कम खर्चिलो र प्रविधिमैत्री बन्नुपर्ने बताए ।
बुटवल उमहानगरपालिका सहकारी शाखा प्रमुख गुणाखर खनालले सहकारीहरु उत्पादनमूलक र आयमूलकतर्फ लाग्नुपर्ने बताए । कार्यक्रममा बचत संघ लुम्बिनी प्रदेश सचिव बसन्त ढकालले सहकारीहरुलाई व्यवस्थापन गरी चुस्त बनाउनुपर्ने बताए । सहकारीका अध्यक्ष प्रकाश गैरेले सहकारीका शेयर सदस्य थप गर्दै जाने आफूहरुको अभियान रहेको बताए । कार्यक्रममा अध्यक्ष गैरले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष रामचन्द्र खड्काले कोषाध्यक्षको प्रतिवेदन र लेखा समिति संयोजक हरि घिमिरेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष प्रकाश गैरेको स्वागत तथा उपाध्यक्ष नरबहादुर रजालीको स्वागत तथा सचिव बसन्ती न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।