पार्बती आचार्य
कपिलवस्तु, पुस २८ । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको १० औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले अबको पत्रकारिताले समृद्धिको यात्रा तय गर्नुपर्ने बताए । अहिलेको राजनीतिक परिवर्तनमा पत्रकारको महत्वपूर्ण योगदान रहेको बताउँर्दै अब विकास केन्द्रित पत्रकारितामा जोड दिदैं मुलुकलाई समृद्धिको दिशामा लैजाने गरी कलम चलाउन उनले आग्रह गरे । पत्रकारमा कुनैपनि विचारको पक्षधरता हुनु हुँदैन पक्षधरता भित्र निश्पक्षता खोज्न सके पत्रकारिता पेशा मर्यादित हुने उनले बताए ।
यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले कपिलवस्तु शाखाले देशमै उत्कृट काम गरेको भन्दै प्रशंसा गरे । जिल्लाका तीन स्थानमा भवन निर्माण गरेर महासंघलाई व्यवस्थित बनाउने काम कपिलवस्तु शाखाले गरेको भन्दै अरुले पनि यसको सिको गर्नुपर्ने बताए । यस्तै विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरी, बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, प्रदेश समिती सदस्य नन्दराम पौडेल, महासंघका पुर्ब अध्यक्षहरु मनोज पौडेल, भेषराज पाण्डे लगायतले शुभकामना मन्तब्य दिंदै स्वतन्त्र पत्रकारीता गरी पत्रकारीता क्षेत्रलाई गुणात्मक बनाउनुपर्नेमा जोड दिएका थिए ।
महासंघका शाखा अध्यक्ष डिलाराम भुसालले हालसम्मका कार्यहरु र आगामि कार्ययोजना तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कोषाध्यक्ष दिपक खड्काले आर्थिक प्रगति प्रतिवेदन र सचिव हरि अधिकारीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । त्यस्तै जिल्ला अध्यक्ष डिलाराम भुसालले पत्रकार महासंघ कपिलवस्तु भौतिक रुपमा मजबुत भएकाले अब पत्रकारीतालाई गुणात्मक बनाउनुपर्ने बताए । उनले साधारण सदस्यको जिज्ञासाको जवाफ दिंदै कोरोना महामारीमा पनि जिल्लाका सञ्चारकर्मी सक्रियका साथ कार्य गरी समाजलाई सुशुचित बनाएको भन्दै धन्यवाद व्यक्त गरे । यस्तै साधारण सभाले पत्रकारको हक हितमा ११ वुँदे घोषणा पत्र जारी गरेको छ । शाखा अध्यक्ष डिलाराम भुसालको अध्यक्षता, उपाध्यक्ष पार्वती पाण्डेको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरु, सुरक्षकर्मी लगाएतको उपस्थिती भएको थियो ।