सुनिल आचार्य
कपिलवस्तु, माघ ३ । नेपाली कांग्रेसले कपिलवस्तुका बिभिन्न ठाउँमा सरकार बिरुद्धे बिरोध प्रदर्शन गरेको छ । देशभरका सबै स्थानीय तहमा बिरोध प्रदर्शन कार्यक्रम अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अत्तहर कमाल मुसलमानले प्रधामन्त्री केपी शर्मा ओलीमाथि आक्रोस व्यक्त गरेका छन् । गत पुष ५ गते संसद विघटन गरेका प्रधानमन्त्री ओलीले दिनप्रतिदिन गलत गरिहरहेको भन्दै पछिल्लो समय किर्ते र जालसाजीतर्फ लागेको उनले आरोप लगाएका छन् ।
संविधानको कुनै धारा उल्लेख नगरी संसद विघटनको प्रस्ताव राष्ट्रपतिकहाँ लगेको, अदालतमा प्रवेश गरेको कागजलाई किर्ते गरी फिर्ता गर्नेसम्मका काम ओलीबाटै भएकोले उनलाई प्रधानमन्त्री भन्न समेत लाज लाग्न थालेको उनले बताए । वैशाखको निर्वाचन कुनै पनि हालतमा नहुने बताउँदै यस्ता भ्रमको पछि नलाग्न समेत आग्रह गरे । हरेक संकटबाट काँग्रेसले मुलुकलाई बचाएको भन्दै अब पनि मुलुक जोगाउने अभिभारा कांग्रेसकै भएको केन्द्रिय सदस्य कमालले बताए । केपी ओली सरकार भ्रष्टाचार र काण्डैकाण्डमा फसेकोले असफल सिद्ध भएपछि चुनावको नौटंकी गरेको बताएका छन् ।
यस्तै कांग्रेस बाणगंगा नगर कार्यसमिति सभापति एवं नगरप्रमुख मंगलप्रसाद थारु, वडा नम्बर १ की वडा अध्यक्ष बाल कुमारी पन्त अधिकारी, तरुण दलका जिल्ला अध्यक्ष शक्तिसिंह ठकुरी लगायतले बोल्दै ओली कदम र राष्ट्रपतिको भूमिकाको आलोचना गरेका थिए । उक्त कार्यक्रमको संचालन नगरसचिव रामजी सेनले गरेका थिए । नेपाली कांग्रेस कपिलवस्तुले बाणगंगा नगरपालिका सहित अन्य पालिकाहरुमा समेत बिरोध प्रदर्शन गरेको छ । जसमध्ये बाणगंगा नगरपालिका, शुद्धोधन गाउँपालिकाको लबनी र मायादेबी गाउँपालिकाको चाकड चौडामा अतहर कमाल मुसलमानले कार्यक्रमको संवोधन गरेका थिए । पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको कांग्रेसले आज मुलुकभरका ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गरेको हो ।
अब माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने कांग्रेसले निर्णय गरिसकेको छ । यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलित भएको छ ।