कपिलवस्तु, माघ ४ । कपिलवस्तुको दुई स्थानमा बर्डर आउट पोष्ट (बिओपी) को स्थापना गरिएको छ । जिल्लाको विजयनगर गाउँपालिका १ जवाबैराठ र मायादेवि गाउँपालिका वडा नं. ८ सानो नन्दनगरमा सशस्त्र प्रहरी नायब महानिरीक्षक डीआईजी किशोर प्रधानले बिओपीको उद्धघाटन गरेका हुन । जिल्लाकै विकट क्षेत्रमा पर्ने जवाबैराठमा बिओपी उद्धघाटन गर्दै प्रधानले बिओपीको स्थापनापछि यहाँका जनतालाई पुर्ण सुरक्षित वातावरणको महसुस हुने बताए । शान्ती सुरक्षा कायम राख्न बिओपीलाई नागरिकहरुको साथ आवश्यक रहने बताउँदै सीमा क्षेत्रमा हुने अपराधिक गतिबिधिलाई बिओपीले रोक्ने बताए ।
सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालयका प्रमुख प्रधानले नेपाल सरकारले सिमा नाकामा बिओपी स्थापना गर्ने निर्णय बमोजिम सशस्त्र प्रहरी बलले सम्पूर्ण तराई र हिमालका बर्डरहरुसँग जोडिएका जिल्लाहरुमा बिओपी स्थापना गर्दै आइरहेको बताए । यस्तै प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कपिलवस्तु जिल्ला भारतको सिमानाकासँग ९३ किलो मिटर जोडिएको हुँदा बिओपी स्थापनाले शान्ती सुरक्षामा सहज हुने बताए । सीमामा हुने अपराधिक घटनाहरु चोरी, निकासी, पैठारी लगायत कानुन विपरीतका कार्यहरुलाई नियन्त्रण गर्न सकिने समेत बताए ।
जिल्लाका ९ स्थानमा बिओपी स्थापना गरिएको २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक धुब्र बहादुर कार्कीले बताए । स्थापना गरिएका क्षेत्रको अवस्था हेरेर त्यस स्थानमा जनशक्ति पठाइने बताए । बिओपी स्थापना पश्चात अबैद्य, गैरकानुन क्रियाकलापमा कमी आउने बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।