दिल प्रसाद पौडेल
मनका हांगाहरु वसन्तको हावाहुरीले बेस्सरी चोइटाइदिएको छ । के गरुँ के नगरौँ बेचैन मुद्रामा एकोहोरो पैसा कमाउने उपाय खोज्दै छु । जीवनको उत्तरार्धतिर आइपुग्दा पनि न पारिवारिक साथ, न पैसाको जोहो, न सम्पत्ति न आफन्तको समर्थन । यो सांसारिक रंगमञ्च नै मेरो जिबनमा उदाङ्गो बनेको आभाष भैरहेको छ । जीवन र जगतमा केही गर्छु भन्ने सुनौला सपना बुनेर पर्दापण भएको यो विचरो कसैको बन्न सकेन । सदा सर्बदा जीवनमा अवरोध, उपहास, तिरस्कार र घृणित पात्र बनेर गुजरिरहेका मेरा दिन न अब कहिल्यै फर्कने नै छ्क्न न त्यो अतीत बिर्सन सक्ने छु ।
आज सबैले प्रणय दिवस मनाइरहदा आफू भने कारुणिक संसारमा करुणाको क्रन्धित आवाज लिएर भौतारिरहेको छु बेवारिसे मान्छे बनेर । कसैले तेरो घर कहाँ हो भन्दा छैन भन्छु । कसैले तेरो सम्पत्ति ? भन्दा छैन भन्छु । कसैले तेरा दाजुभाइ ? भन्दा केही बर्ष पहिल्यै बिघटन भएपछी टाढिए भन्छु । कसैले तेरो श्रीमतीभन्दा बिहेपछिका तिनवटा दिन सम्झिन्छु र छैन भन्छु । कसैले छोराछोरी ? भन्दा असार बीस गते सम्झिन्छु र काठमाण्डुमा पढ्दै छ भन्दिन्छु । वास्तबिकताको भवसागरमा पिडासंगै मौनता र चीत्कार बोकेर चुर्लुम्म डुब्दै जाँदा एकमुठी श्वास बचाउन संघर्षको बागचाल हानेर फेरि तैरिइरहेको महसुस गर्छु ।
हरेक पक्षबाट बिचलित अनि बनेको एउटा जीवन आखिर यस्तै रहेछ भन्छु र अलिकती अल्कोहलसंग चुरोटको चुस्की लिएर धिक्कार्छु आफ्नो जिन्दगीलाई । जन्माउने बाबुआमालाई के दोष तर आफ्नै जीवन भार भएपछि जति गरेपनी उसैले गरेको भएपछि जति कमाएपनि उसैले कमाएको ठहर गरेपछि आजभोलि लाग्छ चुनौती रहेछ । जिन्दगी मलाई कसैले भ्यालेन्टाईन डेको स्ट्याटस सामाजिक सञ्जालमा राख्दा पनि उथलपुथल हुने गर्छ । माया एउटासंग र जीवन एउटासंग बिताउने प्रण गरेकाहरु संग बच्नुपर्दो रहेछ । आकाशका तारा झारिदिन्छु र यो संसारमा मेरो प्राण नै त होस भन्नेले मुटु झिकेर लगेको पत्तोसमेत पाइन्न रैछ । शुरुमा बाबुआमा त्यागेर आउनेहरु माया र पैसाले मातेपछि एक्लो बनाएका उदाहरण प्रशस्तै भेटिन्छन् ।
कतिपय पैसाको लागि क्षणिक माया गर्नेहरुले पैसा पाएपछि हरप्रकारबाट प्रपञ्च रच्नेहरु पनि भेटिन्छन् । हरेक पल उसकै आड भरोसा र बिश्वासमा आफूलाई समाहित गर्नु नै आफू मगन्ते बन्नुरहेछ । बिषाक्त मायाको रसास्वादनले उजाडिएको जीवन पुनः पलाउन अझै कत्ती बाधा, अबरोध र चुनौती पार गर्नुपर्ने हो त्यो त भोग्नेहरुलाई मात्र थाहा होला । जीवन मरणको दोसाँधमा आइपुग्दा मान्छे जुनसुकै प्रकारका गतिविधिमा साहभागी हुन विवश हुँदो रहेछ, बनाइदोरहेछ । गोधुलीमा उजाड अनि एकान्त अनि नाङ्गो डांडामाथि सिङ्गो ढुङ्गामाथी अलापेर रुनु शिवाय केही रहेनछ जिन्दगी । हरेक प्रगतिको पछाडी घृणाको अजेउरी पलाएपछी जीवन खोक्रो बन्दोरहेछ । आशाका त्यान्द्राहरु चुंडिएर भुइँमा झर्दा निराशाको कालो टांसिदोरहेछ । खुशिका करोडै धर्काहरु मेटिँदै जाँदा रहेछन् । हररात उसकै निम्ति देख्ने गरेका सपनाहरु केलाउन नपाउदै भष्मसुर हुदारहेछन । तर कहिले मैले मेरी बुढीलाई दिने मायामा कमि हुन दिइनँ । तर आज हामी देख्छौ उसको आँखा बराबर भयन, नाक मिलेन, कम्मर मिलेन, पढाइ मिलेन, जागीर खानलाई फिल्ड मिलेन त्यसैले ऊ मलाई मन परेन र उनी मलाई मन परिनन् ।
आजभोलिको माया फेसबुक र इन्टरनेटमा सिमित हुन पुगेको छ । घरका सदस्य बिच माया सद्भाव हराउँदै गएको । श्रीमान्–श्रीमतीबीचको माया फेसबुकको फोटोमा मात्रै सिमित हुन्थ्यो त्यो पनि बिरानो हुँदै गएको छ । घरका ढोकामा ताला लगाउन अल्छी गर्नेहरु मोबाइलमा ताला लगाउन कहिल्यै बिर्सेका हँुदैनन् । फोनमा पराईसँग घन्टौँसम्म बोलेर न थाक्नेहरु आँखै अगाडि बसेका आफन्तसँग बोल्ने फुर्सद पाउँदैनन् । अहिलेको माया धेरै बिकाउ भएको छ तर टिकाउ चाहिँ छैन । घर परिवार, समाजले खोजे जस्तो माया एक दिनको भ्यालेन्टाइन–डे ले कसरी पूरा गर्न सक्छ ? वर्षौँदेखिको मनभित्रको असन्तुष्टि एउटा गुलाब र चललेटले पूरा गर्न पक्कै सक्दैन होला ।
त्यसैले पैसै पैसाको संसारमा माया भन्दा पैसा नै ठूलो देख्नेहरु हो आऊ अब पवित्रता, न्याय, भाइचारा, नीति, आत्मियता, लगाव, विश्वास मिसिएको माया गरौँ अनि आफैँसँगै गौरव गर्न सकौँ । अरुलाई जिन्दगी भर निरास बनाउँदै गर्दा तिमीहरुको आँखा कहिल्यै नछचल्कियोस् मेरो शुभकामना ।