मेघराज भट्टराई
नेपालमा युगीन महत्वका काम गरेको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको आज तीन वर्ष पूरा भएको छ । सरकारले पार्टी भित्रैबाट र बाहिरबाट समेत अवरोधको सामना गर्दै समृद्ध नेपाल सुखी जनताको संकल्प गर्ने र त्यसलाई साकार पार्ने खालका काम गरेको छ । वास्तवमै युगीन महत्वका काम सुरु गरेको सरकारले समाजवादउन्मुख अर्थतन्त्र निर्माणका आधारशीला तयार गरेको छ । विरोधका लागि विरोध गरेर, आलोचना मात्रै गरेर भ्रामक प्रचारबाजी गर्नेहरुले पनि एकपटक तथ्य हेर्ने कष्ट गर्नुपर्ने भएको छ ।

तथ्यांकका आधारमा कानुनी, संस्थागत, नीतिगत, प्रशासनिक, र भौतिक तथा शासकीय प्रवन्धसमेत विकासका क्षेत्रमा गरिएका सुधारबाट छोटो अवधिमामा नै समाजवादउन्मुख अर्थतन्त्र निर्माणको आधार तयार गर्ने यो सरकार नेपालको इतिहासमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकार पछिको अर्को स्वर्णकाल हो । संविधानमा उल्लेखित नागरिकका मौलिक हक प्राप्तिका लागि कानुन निर्माणदेखि तिनको शीघ्रप्राप्ति गर्ने, संघीय शासन प्रणालीलाई संस्थागत गर्ने, वित्तीय संघीयताको सफल कार्यान्वयन गर्ने र जनआकंक्षापूरा गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकंक्षा पूरा गर्नेतर्फ दरिलो कदम चाल्नुपर्ने दायित्व थिए । जुन दायित्व पूरा गर्ने काममा सरकार निरन्तर अग्रसर रहेको छ । कामै गर्न नपाउने, संसदलाई किर्ते गरेरै भएपनि कब्जामा राख्न खोज्ने र जहिले पनि आफँैलाई मात्रै केन्द्रमा राखेर बार्गेनिङ गरिरहने कतिपय नेताहरुका कारणले गर्दा नै प्रतिनिधि सभा विघटन गर्नुपरेको हो । जुन दुनियाँलाई छर्लङ्गै छ । ताजा जनादेशमा जाने भन्ने कुरा, चुनाव गरौं भन्ने कुरा कसरी प्रतिगामी हुन्छ ?
संघीयता कार्यान्वयन सहज रुपमा अघि बढाउन सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी तुल्याउनु, सामाजिक सुरक्षाको विस्तार गरी आर्थिक क्षेत्रसँग सम्बन्धित मौलिक हकहरुको कार्यान्वयन गर्नु, चरम गरिबी र अभावको अवस्थाबाट नागरिकहरुलाई छिटो मुक्त गर्नु सरकारको प्रमुख दायित्व थियो । यो दायित्वलाई कुसलतापूर्वक पूरा गर्नेतर्फ सरकार केन्द्रित रहेको कुरा तथ्यांकहरुबाटै प्रष्ट हुन्छ । वित्तीय संघीयता कार्यान्वयन गरी निर्विवाद ढंगले तीनवटै तहका सरकारमा बित्तीय अधिकार, साधन, स्रोत र जिम्मेवारी सहित सेवाप्रवाहका कार्य अघि बढाउने काममा केपी ओली नेतृत्वको सरकारले युगीन महत्वका काम गरेको छ । सरकार गठन भएको यो अवधिलाई नेपालको इतिहासमा अर्को स्वर्ण युग नै मान्न सकिन्छ । अब ताजा जनादेशका लागि तोकिएको मितिमा चुनाब गरेर जनताबाट चुनिने अनुशासित सांसदहरुसहितको संसद् र सरकारले देश र जनताका अधुरा अभिभारा पूरा गर्नेछ । त्यसको नेतृत्व केपी ओलीले नै गर्नुहुने छ ।
विद्युत् उत्पादन बढ्यो, प्रशारण लाइन विस्तार हुँदै
तीन वर्षको अवधिमा मात्र विद्युत् उत्पादन क्षमता ४० प्रतिशतले वृद्धि भई १०३१ मेगावाटबाट १४३० मेगावाट पुगेको छ । आगामी दुई वर्षभित्र विद्युत् उत्पादन क्षमता कम्तीमा ५ हजार मेगावाट पु¥याउने गरी सार्वजनिक र निजी क्षेत्रमा विद्युत्गृह निर्माण कार्य अघि बढिरहेको छ । यस अवधिमा ६६ केभीभन्दा माथिको थप ९०० किमी ट्रान्समिसन लाइन निर्माण भएको छ । ९० प्रतिशत घरधुरीमा पुग्न सकेको छ ।
सुरुङसहितको सडक निर्माणको आधुनिक चरण
तीन वर्षको अवधिमा संघीय सरकारको तर्फबाट मात्र करिब तीन हजार ६४ किमी कालोपत्रे सडक निर्माण भएको छ भने पाँच सय ४० वटाभन्दा बढी सडक पुलको निर्माण भएको छ । तीन हजार दुईसय किमी खण्डास्मिथ सडक निर्माण भएको छ । हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग, कोशी, कालीगण्डकी तथा कर्णाली कोरिडर निर्माण तथा पूर्वपश्चिम राजमार्गको स्तरोन्नति भइरहेको छ । बुटवल–नारायणघाट सडक विस्तारको काम भइरहेको छ । बुटवलबाट यो सडक विस्तारको काम प्रधानमन्त्री ओलीले नै शुभारम्भ गर्नुभएको थियो ।
यस अवधिमा स्थानीय तहवाट एक हजार दुई सय २५ किमि कालोपत्रे सडक निर्माण भएको छ । बुटवलमा पनि हजारौं मिटर सडक कालोपेत्र भएकोछ, स्तरोन्नति भएको छ । मुलुकमा यस अवधिमा दुई सयभन्दा बढी सडकपुल निर्माण भएका छन् । बुटवलमा मात्रै पाँच वटा ठूला पुल निर्माण भएका छन् । समग्रमा तीन वर्षको अवधिमा संघ र स्थानीय तहवाट देशमा चार हजार तीन सय किमी पक्की सडक, चार हजार किमी खण्डास्मिथ सडक र दुई हजार सात सय किमी कच्ची सडक गरी जम्मा ११ हजार किमी सडक र सात सय ५० वटा सडकपुल निर्माण भएका छन् । प्रदेशमार्फत भएको सडक निर्माणसमेत जोड्ने हो भने नेपालको इतिहासमा नै यति छोटो अवधिमा यति धेरै सडकपुल निर्माण भएको सम्भवत यो पहिलो अवसर हो ।
कृषिउपज बढाउने सिंचाइ आयोजना
भेरी–बबई र सुनकोशी मरिन नदी पथान्तरण आयोजनाको प्रगति उत्साहप्रद छ । प्रदेशमा हस्तान्तरण भएका मझौला सिंचाइ तथा स्थानीय तहमा हस्तान्तरण भएका साना सिंचाइ आयोजनाको निर्माण तीब्र गतिमा भइरहेको छ । तीनवटै तहका सरकारवाट सतह र भूमिगत सिँचाइका कार्यक्रम अघि बढाई सबै सिँचाइयोग्य जमीनमा चाँडै सिँचाइ सुविधा पु¥याउन सकिने छ ।
खानेपानी तथा सरसफाइ
आधारभूत खानेपानी सुविधावाट ९० प्रतिशतभन्दा धेरै परिवारहरु लाभान्वित भैसकेका छन् भने दुई वर्षमा सबैलाई आधारभूत खानेपानी सुविधा पु¥याउनेगरी तीनवटै तहका सरकारले काम गरिरहेका छन् । नेपाल खुला दिसामुक्त देश घोषणा भइसकेको छ ।
हवाई पूर्वाधारमा फड्को
हवाई सेवातर्फ भैरहवामा गौतमबुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सम्पन्न हुने चरणमा पुगेको छ भने आन्तरिक विमानस्थलको निर्माण र विद्यमान विमानस्थलको स्तरोन्नति भइरहेका छन् । दशकौंदेखि सञ्चालनमा ल्याउन नसकिएका दर्जनौँ विमानस्थलहरु व्यवसायिक रुपमा नै सञ्चालनमा ल्याइएको छ । हालसम्ममा ३४ वटा विमानस्थलवाट बाह्रै महिना हवाई सेवा प्राप्त हुने भएको छ ।
रेल–वे तथा नेपाली पानीजहाजका पूर्वाधार तयार
प्रधानमन्त्रीले रेल र पानी जहाजका कुरा गर्दा हावामा उडाउनेहरु अहिले कामै सुरु भएपछि विरोधको अर्को फण्डा सुरु गर्दैछन् । तीन वर्षका अवधिमा पूर्व–पश्चिम तथा उत्तर–दक्षिण रेल–वे सेवा विस्तारको काम अघि बढेको छ । रक्सौल–काठमाडौं तथा केरुङ–काठमाडौं रेल–वेको विस्तृत सर्भेक्षण अघि वढेको छ भने पूर्व–पश्चिम रेलको निर्माण भइरहेको छ । पानीजहाज सञ्चालनका लागि कानुन निर्माणसँगै आवश्यक पूर्वाधार तयार भइरहेका छन् ।
पेट्रोलियम पाइपलाइनको निर्माण
रक्सौलदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन निर्माण भई निर्वाध र नियमित रुपमा पेट्रोलियम आपूर्ति हुन थालेको छ । यसले राष्ट्रको ढुकुटीमा धेरै रकम बचत भइसकेको छ । थप स्थानहरुमा पाइपलाइन विस्तार तथा प्राकृतिक ग्यास लगायतका पदार्थका ढुवानीका लागि पूर्वाधार निर्माण अघि वढेको छ ।
भूकम्पपछिको पुनर्निर्माणमा सफलता
निजी आवास निर्माणतर्फ तीन वर्षको अवधिमा थप ५ लाखभन्दा बढी घरहरु निर्माण सम्पन्न भइसकेका छन् । अहिलेसम्म ९२ प्रतिशत घरहरु निर्माण सुरुभई ८० प्रतिशत परिवारले अनुदानको तेस्रो किस्ता लिइसकेका छन् । स्मरणीय छ, यो सरकार गठनअघि जम्मा ७ प्रतिशतले मात्र यस्तो भुक्तानी लिएका थिए । यसै अवधिमा थप ३ हजार विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ ।
हालसम्म जम्मा ८ सय ४१ स्वास्थ्यचौकीको निर्माण भएको छ भने करिब ४ सय सार्वजनिक भवनहरु पनि पुनर्निर्माण भइसकेका छन् । रानीपोखरीको निर्माण सम्पन्न भइसकेको छ भने धरहरा निर्माण अन्तिम चरणमा पुगेको छ । देशकै केन्द्रीय सचिवालयको रुपमा रहेको सिंहदरवार, बबरमहल, केशरमहल, केन्द्रीय बैंक भवन, सैनिक मुख्यालय, दरबार हाइस्कूललगायतका अन्य धेरै महत्वपूर्ण संरचनाहरुको को प्रवलीकरण, पुनर्निर्माण तथा पुनस्र्थापना भएको छ । भूकम्पबाट क्षतिग्रस्त भएका थप २ सय ५५ वटा पूरातात्विक महत्वका संरचनाहरुको निर्माण तीनवर्षमा नै पूरा भई हालसम्म जम्मा ६ सय ५० वटा संरचना अझ राम्रो र अझ बलियो रुपमा निर्माण हुन सकेका छन् । त्यस्तै सुरक्षा निकायका २ सय १६ वटा संरचना तथा भवनहरु निर्माण भइसकेका छन् । जोखिमयुक्त बस्तीमा रहेका ४ हजार ७ सय २० परिवारहरुको स्थानान्तरण यस तीन वर्षको अवधिमा भएका छन् भने भूकम्पबाट भत्किएका खानेपानी, सिँचाइ तथा सडकको पुनःनिर्माण भएको छ ।
आज बुटवल उपमहानगरपालिकाको ६२ औं स्थापना दिवस । बुटवल उपमहानगरमा जनप्रतिनिधि निर्वाचित भएपछि आवधिक र दीर्घकालीन महत्वका योजना तय गर्दै सहरी विकास गुरुयोजना निर्माण गरिएको छ । बृहत् बुटवलको संकल्पका साथ प्रमुख शिवराज सुवेदीले आधुनिक सहर, मानवताको सहर, सीप र इलमयुक्त नागरिकको सहर, बेरोजगारशून्य नागरिक भएको सहर, सहयोगापेक्षी सडक मानवमुक्त सहर घोषणा गर्दै सोही अनुरुपका योजना तय गर्नुभएको छ । आवधिक योजना पूरा हुने र दीर्घकालीन महत्वका कैयन् योजना सुरु हुने क्रममा छन् । बुटवलको अबको कम्तिमा ५० वर्षपछिको जनशंख्याको अनुपातलाई अनुमान गर्दै योजना तय गरिएका छन् । समग्रमा सबल आर्थिक केन्द्र, समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी जताको संकल्प साकार पार्दै बुद्धाबलीको बुटवललाई बृहत्त बुटवल बनाउने जनप्रतिनिधिको संकल्प साकार पार्न आजको स्थापना दिवसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सकोस् । (लेखक युवा विश्लेषक तथा नगर योजना आयोग बुटवलका सदस्य सचिव हुनुहुन्छ ।)