बुटवल, फागुन ८ । रोटरी मेडिको फ्युजनले शनिबार वृद्धवुद्धाहरुको पेटको निःशुल्क भिडियो एक्स–रे जाँच गरेको छ । रुपन्देहीको सियारी गाउँपालिका–४ स्थित लिलाधर घिमिरे जनता कलेजमा सोही क्षेत्रका करिब १ सय ५७ जना ६० वर्षभन्दा बढी उमेर भएका वृद्धवुद्धाहरुको पेटको निःशुल्क भिडियो एक्स–रे जाँच गरेको हो । शिविरका संयोजक रेडियोलोजिष्ट डा.विजय घिमिरेका अनुसार अधिकांश पुरुषहरुमा प्रोस्टेटको समस्या देखिएको छ भने केही महिलाहरुमा पाठेघर र डिम्बासयको पनि समस्या देखिएको थियो । शिविरमा जाँच पश्चात फिजिसियन डा. दिनेश गौतममले पेट सम्बन्धी परामर्श दिएका थिए ।
त्यस्तै शिविरमा रेडियोलोजिष्ट डा.विजय घिमिरे, डा. अजिज उल्लाह र डा. बसन्त शर्माले भिडियो एक्स–रे जाँच गरेका थिए । अधिकांश वृद्धवुद्धाहरुले रोग लुकाएर बस्ने र रोग छिप्पीएपछि मात्रै जानकारी हुने हुँदा लक्षित समुदायलाई निःशुल्क भिडियो एक्स–रे जाँचले फाइदा पुगेको क्लबका अध्यक्ष वरिष्ठ बाल रोग बिशेषज्ञ डा. सन्तोष पोखरेलले बताए । यस्तो शिविर आगामी दिनमा अन्य ठाउँमा पनि सञ्चालन गरिने बताए । उक्त शिविर स्थानीय नागरिक बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा आयोजना गरीएको थियो ।