रूपन्देही विकासको ‘रोलमोडल’: अर्थमन्त्री पौडेल
बुटवल, फागुन ९ । अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलले रूपन्देहीलाई देशकै विकासको नमूना जिल्ला बनाउने बताएका छन् । यहाँ ठूलो विकासका आयोजनाहरू अगाडि बढेकोले विकासको ‘रोलमोडल’ जिल्लाका रूपमा रूपन्देहीलाई स्थापित हुन लागेको दावी गरे । सिद्धार्थ केबलकारको आइतबार बुटवलको देउरालीडाँडाँमा शिलान्यास गर्दै पौडेलले भने, ‘रूपन्देही विकास सिक्ने पाठशाला बन्दैछ । विकास सिक्न र पढ्न जानुपर्ने जिल्ला बनेको छ । भौतिक र मानवीय विकासमा रूपन्देही अगाडि छ । यसलाई कसैले उछिन्न सक्ने छैनन् ।’ अर्थमन्त्री पौडेलले विकास निर्माणले फड्को मारिरहेको रूपन्देहीको इतिहासको मूल्यांकन गर्न आग्रह गरे । केबलकारले रूपन्देहीको विकासमा बहुआयामिक महत्व राख्ने बताए । ‘केबलकारका लागि सरकारले गर्नुपर्ने सहयोग जतिसुकै बेला पनि गर्न तयार छ,’पौडेलले भने, ‘तर समयमै योजना सम्पन्न हुनुपर्छ । यसले रूपन्देही र पाल्पाको पर्यटन विकासमा ठूलो योगदान दिनेछ ।’

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै पौडेलले अब दोस्रो चरणमा काम सुरू हुने बताए । पौडेलले मृत्युमार्गको उपमा पाएको बुटवल पाल्पा सडक खण्डको सिद्धबाबामा बन्ने भनिएको सुरुङमार्ग छिट्टै टेन्डरको प्रक्रियामा जाने बताए ।
पौडेलले बुटवल र सिद्धार्थनगरसहितको सहर जोडेर महानगर बन्ने दावी गरे । उनले आधुनिक ढाँचाको महानगर बनाउने कोसिसका साथ अगाडि सरकार अगाडि बढिरहेको जानकारी दिए । उनले सरकारले संविधान कार्यान्वन गर्दै समृद्धिको दिशामा अगाडि बढेकोले बताए । संविधान र गणतन्त्रलाई कार्यान्वन गर्दै सरकार समृद्धिको दिशामा अगाडि बढेको छ । हाम्रो ध्यान यसैमा केन्द्रित छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जीतगढी र नुवाकोटगढी ऐतिहासिक र सांस्कृतिक पूर्वाधारलाई जोडेर अगाडि बढे यहाँको पर्यटन विकासले ठूलो फड्को मार्ने बताए । उनले बुटवल आर्थिक र पर्यटकीय हवको रुपमा विकास हुने बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलमा केबलकारको लागि मात्रै साढे ४ अर्ब निजी क्षेत्रले लगानी गरेकोले उनीहरुसँग हातेमालो गरेर अगाडि बढ्न स्थानीय सरकार तयार रहेको प्रतिबद्धता जनाए । सुवेदीले दुईवटै केबलकार छिट्टो सम्पन्न गर्न सञ्चालकहरूलाई आग्रह गरे ।
आइतबार शिलान्यास भएको सिद्धार्थ केबलकारको तल्लो स्टेशन बुटवल देउराली डाँडाबाट पाल्पाको नुवाकोटसम्मको राजमार्गको दूरी दुई किलोमिटर छ ।

केबलकार निर्माण र सञ्चालनपछि २५ केबलकार डब्बामा दैनिक पाँच हजार पर्यटकले यात्रा गर्ने प्रालिको अपेक्षा छ । केबलकार मनोकवल डिटेचवल सर्कुलेटिंग गन्डोला स्वरूपमा हिँड्नेछ ।
केबलकार निर्माणका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले २०७५ साउन २९ मा ३.९८ हेक्टर क्षेत्रफल र २०७६ फागुन १२ मा २.११८ हेक्टर क्षेत्रफलवनको जग्गा ३० वर्षका लागि लिजमा दिएको छ । यसअघि प्रधानमन्त्री ओलीले शिलान्यास गरेको लुम्बिनी केवलकारले दुई वर्षभित्रैमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको औपचारिक शुभारम्भ गरेको हो ।
वडा नम्बर १ का वडाअध्यक्ष महेन्द्र लिगल, नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपाल, डिआर घिमिरेलगायतले बोलेका थिए । विगत आठ वर्षदेखि केवलकार निर्माण गर्ने अभियानले अब भने मूर्तरुप लिएको प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरूङले बताए । केबलकार निर्माण सम्पन्न गर्न करिब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । ऐतिहासिक नुवाकोटगढी र बसन्तपुर डाँडामा दुवैतर्फ निजी क्षेत्रको लगानीमा केवलकारका परियोजना अगाडि बढेका हुुन् । फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल उपमहानगरपालिका–३ देखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म पुग्ने लुम्बिनी केबलकारको बुटवलमा शिलान्यास गरेका थिए ।
नुुवाकोटमा कालभैरवको मन्दिर, सेनकालीन दरबार, सेनकालीन इनार, काठे दरबार, सेनकालीन भग्नावशेस दरबार नुुवाकोट किल्ला र ग्रामीण परिवेश पर्यटकले अवलोकन गर्न पाउनेछन् ।
नुवाकोटबाट मनोरम हिम शृंखलाका साथै तराईका फाँट र भारतको नौतुुनासम्मका दृश्य अवलोकन गर्न सकिन्छ ।
ऐतिहासिक ठाउँमा यस्ता विकासका पूर्वाधारले पर्यटन क्षेत्रको विकासमा थप मद्दत यस क्षेत्रका जानकार दलबहादुर गुरूङ बताउँछन् । बुटवल क्षेत्र ज्ञानमूभि, ध्यान भूमि र तपोभूमि रहेकोले यस्ता ठूला विकासका परियोजनाहरू अगाडि बढाउँदा यस क्षेत्रको महत्व झनै बढ्दै गएको गुरुङले बताए । निर्माण सुरू भइसकेको लुम्बिनी केवलकार दुई वर्षभित्र सम्पन्न गरिसक्ने प्रालिका प्रमुख रमेश शर्मा बताउँछन् । निजी क्षेत्रबाट पनि नुवाकोटमा ठूलो मात्रामा लगानी भइरहेको छ । नुवाकोटमा हिलसाइड भिलेज रिसोर्टदेखि केवलकार सञ्चालनको प्रक्रिया सुरु भएको हो । बुटवल परिचित होटल व्यवसायी माधव नेपालसहित झण्डै ५० जना उद्यमीहरूको लगानीमा रिसोर्ट तथा केबलकार निर्माणको काम अगाडि बढाएका हुन् ।
नुवाकोट विकास समितिका अध्यक्षसमेत रहेका नेपालले लुम्बिनी आउने पर्यटकलाई आकर्षित गर्न नुवाकोटको पर्यटकीय विकासमा लागेको बताए । नेपालले नुवाकोटमा बन्दै गरेको संरचनाले यस क्षेत्रको पर्यटकीय मुहारमा ठूलो टेवा पुग्ने दावी गरे । यो ठाउँमा पहाडबाट नुन ल्याउन बुटवल झर्ने पुरानो बाटो पनि पर्छ । नुुन खेपेको ठाउँ कस्तो रहेछ भनेर पनि एक पटक केबलकार चढ्न त्यहाँ नेपालीहरु पनि पुुग्ने लगानीकर्ताको अपेक्षा छ । आजभन्दा ५० वर्ष अगाडि पहाडी जिल्लाबाट घ्यू ल्याएर बुटवलमा नुनसँग साटेर नुवाकोट हुँदै मानिसहरू पहाडतर्फ फर्किन्थे । सडकमार्ग हुँदै नुवाकोट जान बेलबास शान्तिचोकबाट ११ किलोमिटरको दूरी पार गर्नुपर्दछ । पैदल जानको लागि फूलबारीबाट उजिरसिंह सिँढीमार्ग रहेको छ । सिँढीमार्गबाट पैदल दुईघण्टामा नुवाकोट पुग्न सकिन्छ ।