देशभरका ९९६ सामुदायिक माविको मूल्याङ्कन परीक्षण
नतिजाले अझ उत्कृष्ट हुने हौसला बढायो : प्रमुख सुवेदी
बुटवल, फागुन १८ । सामुदायिक माविहरुको कार्यसम्पादनमा बुटवल उपमहानगरपालिका मुलुकमै उत्कृष्ट भएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरिबाट नमुना विद्यालयका रुपमा छनौट गरेका सामुदायिक विद्यालयको कार्यसम्पादनको परीक्षण गरेको थियो । मुलुकभरका सबै पालिकाहरुबाट नमुना विद्यालयका रुपमा छनौट गरिएका करिब एक हजार सामुदायिक माध्यमिक विद्यालयको कार्यसम्पादन मूल्यांकनका आधारमा बुटवल देशभरकै पालिकाहरुमा प्रथम भएको हो ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हालै प्रकासित गरेको परीक्षणको समष्टिगत प्रतिवेदनमा बुटवल उपमहानगरपालिका सामुदायिक माविको कार्यसम्पादन उत्कृष्ट पाइएको हो । विद्यालयको भौतिक संरचना, शिक्षकको योग्यता तथा उपलब्धता र समुदायबाट विद्यालयलाई प्राप्त भौतिक सहयोगलाई लगानी मानेर मूल्यांकन गरिएको थियो । परीक्षणका लागि रुपन्देहीका सबै १६ वटै पालिका परेका थिए । बुटवलका २० वटा सामुदायिक विद्यालयको मूल्यांकन गरिएको थियो । रुपन्देहीसहित देशैभरका पालिकाहरुबाट बुटवल उत्कृष्ट भएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।

शिक्षाको विकासका लागि बुटवलमा भएको योजनाबद्ध तथा दिगो विकास लक्ष्यअनुरुपका कामको नतिजा मानिएको र आगामी वर्षमा अझ सुधारका लागि हौसला बढाएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए । शैक्षिक गुणस्तर बढाउन खट्ने सबैलाई धन्यवाद दिँदै प्रमुख सुवेदीले उत्कृष्ट नतिजालाई निरन्तरता दिँदै अझ उत्कृष्ट बन्नेतर्फ केन्द्रित रहन आग्रह गरे ।
समग्र उपमहानगरलाई एउटा विद्यालय अर्थात् सिकाई स्थलका रुपमा विकास गर्दै मुलुकभरमै पहिलो पटक शैक्षिक संगोष्ठि, स्थानीय पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक छपाई तथा पठनपाठन गराउनेदेखि अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट बनाउने गरी योजना तय भएको प्रमुख सुवेदीको भनाइ छ ।
अहिलेको नतिजाले विद्यालयहरुको समग्र कार्य सम्पादन स्तरको बारेमा अनुगमन गर्न सहज भई शैक्षिक क्षेत्रको सुधार र अरु प्रगतिका लागि दूरदृष्टि तय गरी आगामी योजना निर्माण गर्न मात्र नभई कार्यान्वयनका गर्दा ध्यान दिनुपर्ने पक्षका बारेमा समेत मार्ग निर्देश भएको प्रमुख सुवेदीले बताए ।
शैक्षिक गुणस्तर अभिवृद्धिको अभियानलाई मूर्तरुप दिन यसलाई कार्य रुपमा उतार्ने निकायहरुको कार्य सम्पादन परीक्षण गर्ने काम चुनौतीपूर्ण र जटिल रहेपनि शैक्षिक विकासका लागि अति नै महत्वपूर्ण रहेको उपमहानगरका उपप्रमुख तथा नगरस्तरीय अनुगमन समिति संयोजक गुमादेवी आचार्यले बताइन् ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट कार्यसम्पादन परीक्षण गरिएका मुलुकभरका १३ जिल्लाका ९९६ विद्यालयमध्ये ८३ दशमलव २ प्रतिशत विद्यालयको कार्यसम्पादनको अवस्था सामान्य देखिएको छ । उत्तम कार्यसम्पादन भएका विद्यालय ९९६ मध्ये जम्मा दुई ओटा देखिएको छ । ती दुईओटामा एउटा विद्यालय बुटवलको र अर्को दार्चुलाको रहेका छन् ।
कार्यसम्पादन परीक्षणमा मध्यम खालका विद्यालयको प्रतिशत सबैभन्दा धेरै रुपन्देही अर्थात् बुटवल उपमहानगरमा पाइएको छ । यो २०.३ प्रतिशत रहेको छ । सबैभन्दा कम अर्थात् ७ प्रतिशत रोल्पामा रहेको छ । औसत अंकमा बुटवलमा विद्यालयको सबैभन्दा बढी ९० अंक छ भने कममा ६० प्रतिशत छ । रुपन्देहीकै अरु पालिकाहरुमा बढि अंक ८१ मात्रै छ भने कममा ४० छ । परीक्षणमा बुटवलका २० ओटा सामुदायिक विद्यालय, तिलोत्तमा नगरपालिकाका २०, सैनामैना नगरपालिकाका १३, देवदह नगरपालिकाका १३, सिद्धार्थनगर नगरपालिकाका ९, लुम्बिनी सांस्कृति नगरपालिकाका ७, कञ्चन गाउँपालिकाका ९, गैंडहवा गाउँपालिकाका ९, मायादेवी गाउँपालिकाका ८, रोहिणी गाउँपालिकाका ७ ओटा सामुदायिक विद्यायलको मूल्यांकन परीक्षण गरिएको थियो ।
यस्तै सियारी गाउँपालिकाका ७ ओटा, शुद्धोधन गाउँपालिकाका ६ ओटा, सम्मरीमाई गाउँपालिकाका ३ ओटा, ओमसतिया गाउँपालिकाका ३ ओटा तथा कोटहीमाई गाउँपालिकाका ५ ओटा र मर्चवारी गाउँपालिकाका ४ ओटा सामुदायिक विद्यालयको कार्यसम्पादन परीक्षण गरिएको थियो ।

बुटवल उपमहानगरपालिकाअन्तर्गत ३९ सामुदायिक विद्यालयहरु रहेका छन् । यीमध्ये रात्रि मावि, महिला विद्यालय, खुला विद्यालय, विशेष विद्यालय (सुस्तमनस्थिति), गुरुकुल विद्याश्रम र तीनवटा मदरसा विद्यालय सञ्चालनमा छन् । कक्षा १ देखि १२ सम्म बुटवलका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या करिब २३ हजार रहेको छ । अहिलेको नतिजाले अझ उत्कृष्ट बनाउन हौसला बढाएको बताउँदै उपमहानगरका शिक्षा, स्वास्थ्य तथा जनशख्या महाशाखा प्रमुख उपसचिव मित्रमणि खनालले सबै पक्षको सहकार्य र समन्वयमा बुटवलको शैक्षिक गुणस्तर उत्कृष्ट बन्दै गएको उल्लेख गरे ।
कसरी गरियो मूल्याङ्कन ?
नेपालमा शिक्षा ऐनमा गरिएको व्यवस्थाअनुसार स्वतन्त्र प्रकृतिको निकायको रुपमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण र शैक्षिक संस्थाहरुको कार्यसम्पादन परीक्षणका काम गर्दै आएको छ । तोकिएका शैक्षिक संस्थाहरुले निर्दिष्ट नीति तथा कार्यक्रमहरु, प्रचलित ऐन तथा नियमबमोजिम कार्यन्वयन गरे नगरेको सम्बन्धमा लेखाजोखा गर्ने, शिक्षाको पहुँच, समता र गुणस्तर अभिवृद्धिका लागि शैक्षिक संस्थाहरुको कार्य प्रणालीको परीक्षण गरी कार्यसम्पादन स्तर प्रस्तुत गर्ने, कार्यसम्पादन सुधारको क्षेत्रहरु पहिचान गर्ने, विद्यालय तथा निकायहरुको कार्यसम्पादन सुधारका निमित्त नीतिगत पृष्ठपोषणका लागि प्रमाणमा आधारित सूचना तथा तथ्यहरु उपलब्ध गराउने र उत्कृष्ट सेवाका लागि संस्थागत जवाफदेहीता सुनिश्चित गर्न सहयोग गर्ने ।
यस्ता छन् विषयक्षेत्र र सूचकहरु
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले शैक्षिक निकायहरुको कार्यसम्पादन परीक्षण ढाँचा तयार पारेर परीक्षण गर्दै आएको छ । विद्यालयमा गरिएको लगानी, प्रक्रिया, उपलव्धि, विद्यार्थी संख्या र नतिजालाई विषयक्षेत्र निर्धारण गरिएको छ । लगानीअन्तर्गत विद्यालयको भौतिक पूर्वाधार, शिक्षक र समुदायको सहभागितासम्बन्धी सूचकहरु छन् । प्रक्रियामा कक्षा शिक्षण, विद्यार्थी मूल्यांकन, शिक्षकको पेसागत विकास, नेतृत्व र व्यवस्थापन र सह तथा अतिरिक्त क्रियाकलापसम्बन्धी सूचकहरु छन् । उपलब्धि सम्बद्ध सूचकहरुमा विद्यार्थीको विद्यालयमा नियमितता, विद्यालय छाड्ने र कक्षा दोहो¥याउने दर, विद्यार्थीको औसत सिकाइ उपलब्धि, सेवाग्राही सन्तुष्टि र शिक्षकको पेसागत सन्तुष्टि सम्बद्ध सूचकका आधारमा मूल्यांकन गरिएको थियो । यी समग्र पक्षमा मुलुकभरका पालिकाहरुमा बुटवल उत्कृष्ट भएको हो । परीक्षण पूर्वको चरण, परीक्षणको चरण र परीक्षणपश्चात्को चरणको विद्यालयको अवस्था हेरेर मूल्यांकन गरिएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले जनाएको छ ।
निजी विद्यालयको समेत परीक्षण गर्ने नीति बनाउन सुझाव
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले तयार पारेको ‘सामुदायिक माध्यमिक विद्यालयहरूको कार्यसम्पादन परीक्षण २०७५÷७६ को समष्टिगत प्रतिवेदन, २०७७’ मा विद्यालयमा सामुदायको सहभागिता, चासो र लगानी बढाउनुपर्ने र निजी विद्यालयहरुको समेत कार्यसम्पादन परीक्षण नियमितरुपमा गर्ने गराउने नीतिगत व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई सुझाव दिएको छ । प्राध्यापक, निवृत्त अधिकारी र पूर्वशिक्षकहरू समेत सहभागी विज्ञ टोलीले सामुदायिक विद्यालयहरूको मूल्यांकन गरेर प्रतिवेदन तयार पारेको हो ।