कपिलवस्तु, फगुन २४ । कपिलवस्तुको विजयनगर प्रथम गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एक भव्य समारोहका बीच सोमवारदेखि शुभारम्भ गरिएको छ । गाउँपालिकाको वडा नं. ७ मा लौटनराम द्रोपदी देवी माध्यमिक विद्यालयको प्राङ्गणमा राष्ट्रपति रनिङ शील्ड सो प्रतियोगिता सुरु गरिएको हो । पहिलो पटक यो वर्ष खेल प्रथम राष्ट्रपति रनिङ शिल्ड शुभारम्भ गरेको गाउँपालिकाले जनाएको छ । फागुन २६ गतेसम्म हुने खेल महोत्सवमा १५ प्रकारका खेल खेलाइनेछ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ मूल नारा तय गरिएको छ । खेलको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिकालाई खेलमैत्री बनाउने बताएका छन् । सबै बालबालिकाहरुलाई खेलतर्फ उत्साह, जोस, जाँगर र चाहना जगाउने विश्वास लिएको उनले बताए ।
खेल महत्पूर्ण रहेकोले खेलले व्यक्तिगत रुपमा चिनाउने कुरा छँदै छ भन्दै स्वास्थ्य मानसिक, सामाजिक सद्भाव, धार्मिक हिसाबले सबैलाई एकै ठाउँमा ल्याउने, चुस्तदुरुस्त बनाउने महसुस गरेको अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले धेरै खेलहरु रहेकोले नियममा रहेर खेल खेल्न खेलाडीहरुलाई आग्रह गरेका छन् । प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, दौड लगायत खेलमा प्रतिस्पर्धा विद्यालय स्तरिय रहने विजयनगर खेलकूद संयोजक हरिहर बेल्वासेले जानकारी दिए । छात्रछात्रा २ सय मिटर, ८ सय मिटर दौड, सटपुट, छात्रातर्फ ज्याभलिङ थ्रो खेल खेलाईएको छ । आज खेलाइएको खेलमा छात्रतर्फ २ सय मिटर दौडमा भुवनेश्वरी मावि जगदीशपुर प्रथम, दुधाधारी मावि गुगौली दोस्रो र जनजागृति मावि लोहरौला तेस्रो भएको छ । छात्रातर्फ २ सय मिटर दौडमा दुधाधारी मावि गुगौली प्रथम, लौटन राम द्रोपदी देवि मावि गणेशपुर दोस्रो र तेस्रो जनजागृति मावि लोहरौला भएको छ ।
८ सय मिटर दौडमा छात्रतर्फ दूधाधारी मावि गुगौली प्रथम, भुवनेश्वरी मावि जगदीशपुर दोस्रो र जनजागृति मावि लोहरौला तेस्रो भएको छ । छात्रातर्फ जनजागृति मावि लोहरौला प्रथम, दूधाधारी मावि गुगौली दोस्रो र लौटन राम द्रोपदी देवि मावि गणेशपुर तेस्रो भएको छ । सटपुट छात्रतर्फ दूधाधारी मावि गुगौली प्रथम, लौटन राम द्रोपदी देवि मावि गणेशपुर दोस्रो र जनजागृति मावि लोहरौला तेस्रो भएको छ । सटपुट छात्रातर्फ लौटन राम द्रोपदी देवि मावि गणेशपुर प्रथम भएको छ ।