चुनावपछि एमालेको सरकार बन्छः विष्णु पौडेल

मेचीकाली संवाददाता

२१ श्रावण २०७९, शनिबार
326 shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कम्युनिष्ट पार्टीका नाममा माओवादी केन्द्र र एकीकृत समाजवादी कलंक भएको आरोप लगाएका छन् । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले दाङमा आयोजना गरेको प्रदेश स्तरीय वृहत प्रशिक्षण कार्यक्रमलाई शनिबार संवोधन गर्दै उनले माओवादी र एकीकृत समाजवादी स्खलित हुँदै गएको बताए ।

उनले भने, ‘कम्युनिष्ट पार्टीको सरकार गिराउन अदालत धाउदै कांग्रेससँग सहकार्य गर्ने काम त्यो कम्युनिष्टको नाममा कलंक हुन ।’ पूर्व अर्थमन्त्री समेत रहेका प्रभावशाली नेता पौडेलले थपे, ‘उनीहरूले (माओवादी र नेकपा एस) कांग्रेसको आदेश तामेल गर्ने स्वार्थी पार्टी हुन् । अदालतलाई दुरूपयोग गरेर परमादेशबाट बनेको सरकार आउँदो मंसिरको जनताले विस्थापित गरी एमालेको सरकार बन्नेछ ।’
‘माओवादीलाई एकीकरण गर्दा उसलाई पचाउन सक्छौ भन्ने थियो’ पौडेलले भने, ‘माओवादी हाम्रो अन्तरविरोधमा खेल्न थाल्यो । उसले केहीलाई अनुयायी बनाएर पार्टी कब्जा गर्न थाल्यो ।’ पौडेलले काँग्रेसलाई बुर्जुवा सुधारवादी शक्ति रहेको बताए । ‘कांग्रेस परिवर्तनको संवाहक हैन । दलाल पूजीपति, अस्ताउँदो सामन्तवाद, उग्र कम्युनिष्ट विरोधी, साम्राज्यवाद, प्रभुत्ववादको रक्षा गर्छ । एसपीपी सम्झौताको ड्राफ्ट त्यसैको उदाहरण हो ।’

शक्ति सन्तुलन अहिले विग्रेर एमाले कमजोरजस्तो देखिएपनि संगठनका हिसावले एक नम्बर पार्टी रहेको पौडेलको भनाइ छ । हिजो दुई तिहाई नजिक रहेको एमाले अहिले बलियो प्रतिपक्ष बन्न पुगेको छ । हिजोको कमजोर प्रतिपक्ष काँग्रेस अहिले सत्तामा छ । यस अवस्थामा पनि देशको बलियो शक्ति शक्ति एमाले नै रहेको पौडेलले बताए । ‘हिजो एमालेका लागि अनुकुल अवस्था थियो थियो, आज प्रतिकुलता छ । स–साना पार्टीलाई हामीले एक गर्छौ । जनताका आवाज बुलन्द गर्छौ । नकारात्मक प्रवृत्तिलाइ हटाउँछौ । त्यही तयारीका साथ चुनावमा लाग्नुपर्ने छ ।’

लुम्विनी प्रदेश कमिटीको आठौं पूर्ण वैठकद्धारा पारित समसामयिक प्रस्तावहरु

१) बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) र यसका उम्मेदवारहरुलाई विजय हासिल गराउन जनताले दिएको लोकप्रिय मतमा हाम्रो पार्टीलाई नेपालको राष्ट्रिय राजनीतिमा प्रमुख शक्तिको रुपमा स्थापित गरेको छ भने सिट संख्याका हिसावले दोस्रो शक्तिको रुपमा स्थापित गरेको छ । यो बैठक परमादेशी सत्तागठबन्धनको सरकारले सत्ता, शक्ति र सरकारी स्रोत साधन समेतको चरम दुरुपयोग गर्दै नेपालको सर्वहारा, श्रमजिवी जनताको प्यारो पार्टी नेकपा ९एमाले० लाई चौतर्फी घेराबन्दी गर्दा पनि निर्भिकताका साथ नेकपा ९एमाले० को पक्षमा उभिने आम मतदाता तथा नेता कार्यकर्ताप्रति आभार प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

२) आ.व २०७९/८० को बजेट निर्माणका क्रममा विचौलियाको प्रत्यक्ष उपस्थिति र निर्देशनमा करका दरहरु हेरफेर गरिनु मुलुकको अर्थ राजनीतिक प्रणालीमै लागेको कलंकको घटना हो । चौतर्फी दवाव र आलोचनापछि यस प्रकरणका मुख्य दोषी अर्थमन्त्रीले राजिनामा दिन बाध्य भएका थिए । तर संसदीय छानविन विशेष समितिमा सत्तापक्षले अधुरो अनुसन्धान र बहुमतको बलमा निजलाई सफाइ दिएर फेरि अर्थमन्त्रीमा नियुक्त गरेको घटनालाई लज्जास्पद र जनभावना माथिको मजाकका रुपमा लिंदै यो बैठक उक्त कार्यको निन्दा, भत्र्सना र भण्डाफोर गर्दछ ।

३) सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभाको नयाँ निर्वाचनका लागि आगामी २०७९ मंसिर ४ गतेको मिति तोकेको छ । संविधान र कानुनको वाध्यकारी व्यवस्था बमोजिम गर्नुपर्ने आवधिक निर्वाचनको आयोजना सम्बन्धमा समेत निर्वाचन आयोगको सिफारिस र प्रतिपक्षी दलहरुको ताकेताका बावजुद गठबन्धनका दलहरुले निरन्तर नकरात्मक धारणा राख्दै अनुचित प्रयास गर्दै आएको तथ्य छर्लङ्गै छ । हाम्रो पार्टीले राष्ट्रब्यापी रुपमा समयमै निर्वाचनका लागि गरेको जोड र निरन्तरको दवावको परिणाम नै सरकार यस ढंगले निर्वाचन गर्ने गरी अघि बढेको छ । नयाँ निर्वाचनको लागि तय भएको मितिको स्वागत गर्दछ । घोषित निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र रुपमा सम्पन्न गर्नु सरकारको जिम्मेवारी हो । यो जिम्मेवारीलाई सरकारले ठिक ढंगले पुरा गरोस् । निर्वाचनको घोषणापछि सरकार स्वतः काम चलाउमा परिणत भएको छ । तसर्थ काम चलाउ सरकारको हैसियत विपरित कुनै पनि काम नगर्न नगराउन यो बैठक सचेत गराउँदछ । साथै सम्पूर्ण जनसमुदायमा समेत निरन्तर खवरदारी गरिरहन हार्दिक अनुरोध गर्दछ ।

४) मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिने र त्यसका लागि आवश्यक सम्पूर्ण उत्पादन सामाग्री समेत सहज ढंगले उपलब्ध गराउनुपर्नेमा अत्यावश्यक विउविजन र मलखादको न्युनतम प्रवन्ध नगराई किसान विरोधी काम गरेकोमा यो वैठक किसानमारा सरकारको घोर निन्दा भत्र्सना गर्दछ ।

५) महंगीले आम जनताको दैनिकी असहज बन्दै गइरहेको छ । भ्रष्टचारमा लिप्त यस सरकारले अवैध आर्थिक कारोवारलाई प्रश्रय र संरक्षण दिएकै कारण महंगी दिनानुदिन बढ्दै गइरहेको छ । पेट्रोलियम पदार्थको मूल्य समायोजित रुपमा कायम हुनुपर्नेमा निजी घरानालाई ब्यापारिक कारोवार सुम्पने नियोजित प्रपञ्चले अन्तर्राष्ट्रिय बजारमा घट्दा पनि नेपाली बजारमा अरु थप मुल्य बढ्दै गइरहेको छ । नयाँ शैक्षिकसत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थीहरुले पाठ्यपुस्तक पाउन सकेनन् । यो बैठक सरकारका उपर्युक्त क्रियाकलापको भण्डाफोर गर्दै पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुहरुको मुल्यवृद्धि रोक्न र घटाउन जोडदार माग गर्दछ ।

६) नेकपा (एमाले) पार्टी र जनप्रतिनिधिहरुले पहिलेदेखि नै प्राकृतिक प्रकोपबाट हुने क्षति रोकथामका लागि पूर्व तयारी गर्न सडकदेखि सदनसम्म पटक–पटक ध्यानाकर्षण गराउँदा पनि त्यसको पूर्व तयारी नगर्नु यो सरकारको अक्षमता, जनताप्रतिको गैरजिम्मेवार नीति र ब्यवहारका कारण प्राकृतिक प्रकोपबाट धेरै जनधनको क्षति हुन गएको छ । यो बैठक सरकारको नालायकीपन र अक्षमताको घोर निन्दा र भत्र्सना गर्दै प्राकृतिक प्रकोपबाट आहत भएका नागरिकहरुको अविलम्ब उद्धार, राहत र उचित क्षतिपूर्ति दिन जोडदार माग गर्दछ ।

७) लुम्बिनी प्रदेश सरकारल चुनावी स्वार्थलाई केन्द्रमा राखेर बहुवर्षिय योजनाको वजेट कटौति र क्रमागत योजनाको बजेट नै हटाएर प्रतिफल आउनै नसक्ने खुत्रुके योजनालाई वढावा दिदै प्रदेश सरकारको औचित्यमाथि नै प्रश्न उठ्ने गरी गरिएका जनविरोधी हर्कत र ज्यादतिपूर्ण कामको भण्डाफोर गर्दै प्रदेश संसदको नीति, बजेट र कार्यक्रम बनाउँदा देखिएको गैरजिम्मेवार ब्यवहार र पूर्ववर्ती सरकारले अगाडि बढाएका कार्यक्रमहरुको कटौतीप्रति यो बैठक निन्दा एवं भत्र्सना गर्दछ ।

८) प्रदेश स्तरीय प्रशिक्षणमा सहभागी भई प्रशिक्षण दिनुभएकोमा पार्टी केन्द्रीय कमिटीका उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेल, केन्द्रीय कमिटीका उपाध्यक्ष एवं यस अभियानका संयोजक कमरेड सुवासचन्द्र नेम्बाङ, पार्टी महासचिव कमरेड शंकर पोखरेल, उपमहासचिव कमरेड प्रदिप ज्ञवाली, सचिव कमरेड छविलाल विश्वकर्मा, केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष कमरेड नेत्र पन्थी, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष कमरेड विष्णु पन्थीप्रति यो बैठक हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछ । साथै यस कार्यक्रममा सहभागिता जनाउनुहुने पार्टीै केन्द्रीय निकायका पदाधिकारी तथा सदस्य कमरेडहरु र केन्द्रीय सल्लाहकार परिषदका सबै सदस्य कमरेडहरुप्रति समेत हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

९) प्रदेश कमिटीको प्रशिक्षण तथा बैठकको ब्यवस्थापनमा सहयोग र समन्वय गर्ने दाङ जिल्ला कमिटी, यहाँका स्थानीय कमिटीहरु, जनसंगठनहरु, स्वयंसेवक कमरेडहरु, स्वास्थ्यकर्मीहरु, सञ्चारकर्मीहरु, स्थानीय महानुभावहरु, सुरक्षा निकाय लगायत सम्बन्धित सबै संस्था र ब्यक्तिहरुमा यो बैठक विशेष धन्यवाद ज्ञापन गर्दछ ।