बुटवल, । नेकपा मसालले लोकमान सिंह कार्कीबारे सर्वोच्च अदालतले गरेको फैसलालाई स्वागत गरेको छ । नियुक्तिको बेलादेखि नै आपूmहरुले त्यसको विरोध गर्दै र त्यसका विरुद्ध देशव्यापी रूपमा सङ्घर्ष गर्दै आएको मसालले बताएको छ ।
मसालका महामन्त्री मोहनविक्रम सिंहले सोमबार विज्ञप्ति जारी गरी नेपालका प्रमुख राजनैतिक शक्तिहरू वा खिलराज सरकारले भारतीय दबाबमा नै कार्कीलाई अख्तियारको प्रमुखमा नियुक्त गरेको दाबी गरेका छन् । ‘कार्की जस्तो भ्रष्ट र अयोग्य व्यक्तिलाई त्यस प्रकारको उच्च र संवैधानिक पदमा नियुक्त गरेर उनीहरूले कति ठूलो गल्ती गरेका थिए त्यो अब छर्लङ्ग भएको छ ।’ विज्ञप्तिमा उल्लेख छ । सर्वोच्चमा त्यो मुद्दा दायर गरेर लोकमान सिंह कार्कीको असंवैधानिक नियुक्तिलाई बदर गराउन जुन अधिवक्ताहरूले लामो सङ्घर्ष गरेको भन्दै उनलाई मसालले धन्यवाद दिएको छ ।
सरकारले अन्तर्राष्ट्रिय रूपमा प्रचलित संसदीय अभ्यासको उल्लङ्घन गर्दै र जोर जवर्जस्तीपूर्वक संविधान संशोधन विधेयक संसदमा प्रस्तुत गरेको भन्दै मसालले त्यसको पनि विरोध गरेको छ । ‘प्रस्ताव पारित भयो भने खाली ५ नं प्रदेशको विखण्डन भएर बेग्लै मधेश प्रदेशको निर्माण मात्र हुने छैन, त्यसका अरू पनि कैयौ“ राष्ट्रघाती साङ्घातिक परिणामहरू हुनेछन् । त्यसकारण त्यो प्रस्तावलाई असफल पार्नको लागि संसदभित्र पूरा प्रयत्न गर्नुका साथै सामान्यतः देशव्यापी रूपमा र विशेषतः ५ नं. प्रदेशमा सशक्त र व्यापक सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ ।’ विज्ञप्तिमा उल्लेख छ ।
५ नं. प्रदेशलाई विखण्डन गरेर बेग्लै प्रदेशको निर्माण सम्पूर्ण तराईलाई पहाडबाट अलग गरेर बेग्लै मधेश प्रदेशहरू बनाउने र त्यसलाई नेपालबाट अलग गराउने रणनीतिको एउटा अङ्ग मात्र रहेको भन्दै सिंहले विज्ञप्तिमा भनेका छन–‘त्यसकारण ५ नं प्रदेशको विखण्डनका विरुद्धको आन्दोलन ५ नं. प्रदेशको विषय मात्र नभएर राष्ट्रिय महत्वको विषय बन्न गएको छ ।’
नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिका रहेको पनि मसालले बताएको छ । नेपालका छरिएका सानातिना राज्यहरूलाई एकीकरण गर्ने मात्र काम गरेनन्, उनको त्यस प्रकारको भूमिकाका कारणले नेपाल अङ्ग्रेजको साम्राज्यमा जानुबाट बच्यो ।’ मसालको विज्ञप्तिमा भनिएको छ– ‘उनको त्यस प्रकारको ऐतिहासिक योगदानमाथि ध्यान दिंदै पृथ्वी जयन्तीलाई सार्वजनिक विदा घोषित गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।’
मसालद्वारा सर्वोच्चको फैसलालाई स्वागत
