शुद्दोधन पार्क गृहमन्त्री खाडद्वारा उद्घाटन

मेचीकाली संवाददाता

२९ श्रावण २०७९, आईतवार
293 shares

तुलसीराम पौडेल
शुद्दोधन । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.५ मानपकडीमा स्थित शुद्धोधन पार्कको उद्घाटन भएको छ। शनिबार नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

गृहमन्त्री खाँडले विकासको काममा राजनीति गर्न नहुने बताउनु भएको छ। उहाँले पार्क निर्माण गर्दा जे जस्ता विवाद सिर्जना भएको भएपनि विकास निर्माणको क्रममा बादबिवादमा नलागी सहकार्य गरेर अगाडि बढ्न आग्रह गर्नुभयो ।
शुद्धोधन पार्क निर्माणमा लागी तत्कालीन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीको पहलकदमप्रती खाँडले आभार व्यक्त गर्नुभयो ।
शुद्धोधन पार्कको शिलान्यास र उद्घाटन फरक फरक पार्टीका जनप्रतिनिधिले गरेकोप्रती लक्षित गर्दै दुवैको शिलान्यास र उद्घाटनको शिलालेख राख्नुपर्ने बताउनुभयो ।उहाँले पार्कले पालिकामात्र नभई लुम्बिनी प्रदेशको समेत प्रतिस्ठा रहने बताउनु भयो ।
साथै गृहमन्त्री खाँडले कोरोना संक्रमणका कारण अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य धेरै पर्ने भएकाले अनुदान छुट्याएको स्पष्ट पार्नुभयो।
अहिले विभिन्न स्वरुपमा मल आयात भएपनि पर्याप्त नभएको उहाँको भनाइ थियो । अहिले विभिन्न देशसँग संवाद भैरहेकोले छिट्टै समस्या समाधान हुने उहाँले बताउनु भयो।
लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले शुद्धोधनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रदेश सभाका सदस्य तुल्सी चौधरीले पार्कले छोटो समयमा ठुलो इतिहास बोकेको जिकिर गर्दै उद्घाटन हुनु खुशिको कुरा भएको बताउनु भयो ।
उनले तत्कालीन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरी लगायतको तत्कालीन जनप्रतिनिधिलाई धन्यवाद व्यक्त गर्नुपर्ने बताउनुभयो ।उहाँले पार्कमा उद्घाटनको मात्र शिलालेख राखिएकोमा आपत्ति जनाउनु हुँदै शिलान्यासको पनि शिलालेख राख्नुपर्ने बताउनु भयो ।

शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत झविलाल भट्टराइले ३ करोड रुपैयाको गुरुयोजना बनाएर पार्क निर्माण गरिएको जानकारी दिनुभयो । पार्कमा बालउद्यान, जिराफ, गैडा, बाघ, चितुवा, सिंह, जरायो, कंगारु, भालु, सारस,डाईनोसर,खरायो,अजिंगर जस्ता विभिन्न जनावर र चराको दुरुस्तै आकृति निर्माण गरिएको भने बाँकी संरचनाहरु निर्माणाधिन अवस्थामा रहेका छन् ।
अब गाउँपालिकाले पार्कलाई जोड्ने नदी माथि बेलिविज्र,सिसमहल ,दुङ्गा संचालन, ट्रि-हाउस लगायतका संरचना निर्माण गर्ने योजना बनाएको छ।

गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका , उपाध्यक्ष शान्ता देवी ज्ञवाली, शुद्दोधन वडा न. ५ का अध्यक्ष चन्द्रमान चौधरी लगायतले पार्कको विकासका लागि प्रदेश र संघीय सरकारको सहयोग आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रमको संचालन शुद्दोधन गाउँपालिका प्रवक्ता एवं वार्ड नम्बर -४ का वडा अध्यक्ष केशव अधिकारीले गर्नुभएको थियोे ।