फोहोरमैलाको अर्थ र सुन्दर शहरको परिकल्पना

मेचीकाली संवाददाता

१ भाद्र २०७९, बुधबार
712 shares

टेकराज पन्थी
फोहोरमैला भनेको काम नलाग्ने भनि फालेका वस्तु प्लाष्टिक, कागज, फलामका टुक्रा, काचका बट्टा, सिसाका बोतल, टिनका पाता, रङका बट्टा र बाल्टी, भान्साबाट निस्किने तरकारी केलाएका बोक्रा, तरकारी खुर्केका भूस, बिग्रिएका वा कुहिएका बासी खाना, खरानी, कोइला, तरकारी मुठ्ठा पारेका पराल, भिमल, र अन्य बान्ने बनाएका त्यान्द्रा, पोको परेर ल्याएका कागज, बट्टा, प्लास्टिक झोला, धूलो कसिंगर, आदि वस्तुहरुलाई जथाभावी र जहाँ पायो त्यही फालेमा फोहोरमैलाका रुपमा चिनिने सवैलाई फोहोरमैला भनिन्छ । तर फोहोरमैला भनेको सडेगलेको घिनलाग्दो वस्तु मात्र नभै कामलाग्न सक्ने वस्तु यत्रतत्र छरिएको फालिएको वस्तु हो । यसको उत्पत्ति कसरी र कहाँबाट हुन्छ ? फोहोर बाट के के हानि नोक्सानी र के के फाइदा र बेफाइदा छन् ?

फोहोर व्यवस्थित गर्न को को जिम्मेवारी हुनुपर्दछ र किन ? फोहोर मैला कसरी र कहाँ लिएर तह लगाउने भन्ने कुराको सबै सरोकारवाला पक्ष लाई जानकारी हुन अति जरुरी हुन्छ । जो जिम्मेवारी पक्ष हो त्यो पक्ष किन जवाफदेही बन्न सकिराखेको छैन र फोहर मैलाको व्यवस्थापन गर्न सकिराखेको छैन भन्ने कुराको जानकारी हुन पनि जरुरी छ । फोहोर कति प्रकारको हुन्छ ? यसको किसिम कस्तो हुन्छ भन्ने कुराको पनि जानकारी हुन जरुरी हुन्छ । फोहर मैला भनेको घीन लाग्दो चिज, वस्तु, मलमूत्र लगायतका दुर्गन्धित वस्तु, चीज बिज र मयलले हेर्न नहुने, काम नलाग्ने कालो धमिलो र मैलालाई नै फोहर मैला भनिन्छ । फोहोरमैलालाई दुई किसिमले हेरिन्छ त्यो भनेको ठोस र तरल दुबै हुन्छ ।

हाम्रो घरघरमा प्रयोग गरेर बाँकी रहेका काम नलाग्ने वस्तुहरु उद्योगधन्दा कलकारखाना, उद्योग धन्दाहरुबाट निस्किएका वा वस्तुहरु खेतबारीबाट उत्पादित भएका फ्याकिने वस्तुहरुलाई नै ठोस फोहोर मैला भनिन्छ । जो कोहीले काम नलाग्ने भनि फालेका वस्तु अर्कोलाई काम लाग्ने पनि हुन सक्छ । ती वस्तुहरु कच्चा पदार्थका रुपमा पनि प्रयोग ल्याउन सकिन्छ । जस्तै प्लाष्टिक, कागज, फलामका टुक्रा, काचका बट्टा, सिसाका बोत्तल, टिनका पाता, रङका बट्टा र बाल्टी आदिलाई फाल्छौ तर पछि तिनै वस्तुहरु सम्बन्धित कारखानाहरुमा लिएर विक्री गरेमा धेरै पैसामा विक्री गर्न पनि सकिन्छ । त्यस्तै तरकारी केलाउँदा निस्केका बोक्रा, फलफूल खाएका बोक्रा र झारपातलाई किसानले कम्पोष्ट मल बनाउँदा प्रयोगमा ल्याउन सक्छन् । विशेषगरी चर्चा परिचर्चामा ठोस फोहोरको नै बढी आउँछ ।

जैविक फोहोर र अजैविक फोहोर भनेर दुई प्रकारले छुट्याउन सकिन्छ । जैविक फोहर भनेको शेष नै नरहने गरी कुहिएर जाने फोहोरलाई जनाउँछ । जैविक फोहोरमा खास गरेर बोटबिरुवा, झारपात, माटो, मरेका जनावर, पशुपंक्षी अन्नपात र अरु खाने कुरालगायत अन्य कुहिने वस्तु र चीज बिज आदि पर्दछन् । यस्तै खालका जैविक पदार्थलाई एक ठाउँमा जम्मा गरेर समय समयमा वल्टाई पल्टाई पारी कम्पोस्ट मल पनि बनाउन सकिन्छ । अर्को अर्थमा भन्दा यी जैविक पदार्थबाट नै माटो बन्द छ र जमिनमा मिसिन्छ । त्यसैगरी अजैविक फोहोर भनेको नकुहिने वस्तु वा पदार्थलाई भनिन्छ । नकुहिने वस्तु वा चिज वा कतिपय पदार्थलाई हामी पुनः प्रयोगमा ल्याउन सक्दछौँ । विभिन्न प्रकारका सिसिहरु, बट्टाहरु घरायसी कामको लागि प्रयोगमा ल्याउन सकिन्छ । चुडिएका च्यातिएका लुगाकपडाहरुबाट नयाँ किसिमका चकटी, तकिया, डसना बनाउन पनि सकिन्छ ।

एकपटक प्रयोग गरी सकेपछिको पोलिथिन झोला सफा गरेर नफाटेसम्म प्रयोग गर्न सकिन्छ तर कुनै कुनै अजैविक पदार्थलाई फेरि पनि प्रयोग गर्न सकिँदैन । च्यातेका पोलिथिन झोला फुटेका सिसी, कुच्चिएका बट्टाहरु, स्टिल फुटेका भाडावर्तन गाल्न वा पगाल्न नसकिने प्लास्टिक मिसिएको कागज, च्यातिएका जुत्ता चप्पल, आदिलाई फेरि प्रयोग गर्न सकिँदैन । तीमध्ये कागज, कपडा, फलाम, सिसी, प्लास्टिक, पोलथिन आदिलाई कारखानामा लिएर केही नयाँ सामान बनाउन सकिन्छ । यसरी विश्लेषण गर्दा कुनै पनि फाल्तु वस्तुलाई फोहोरमैला केही नलिएर त्यसको महत्व बुझ्न सकेमा हेर्दा पनि ठोस फोहोरमैलाको समस्या त्यति जटिल हुन पाउँदैन । फाहोरमैलालाई हामीले यसका स्रोत र प्रयोग गर्ने विधिमा प्रचारप्रसार गर्नु जरूरी छ ।

फोहोरमैला निस्किने स्रोतहरुमा विशेष गरी भान्साबाट, घरबाट निस्किने फोहोर, घर बाहिरबाट निस्कने फोहोर, विद्यालयबाट निस्निे फोहोर, बजारबाट निस्किने फाहोर जस्ता फोहोर निस्कने स्रोतहरू हुन् । हरेक घरका भान्साहरुबाट हरेक प्रकारका फोहोरमैला निकिन्छन् । भान्साबाट निस्किने फोहोर वस्तुहरुमा तरकारी केलाएका बोक्रा, तरकारी खुर्केका भूस, बिग्रिएका वा कुहिएका बासी खाना, खरानी, कोइला, तरकारी मुठ्ठा पारेका पराल, भिमल, र अन्य बान्ने वनाएका त्यान्द्रा, पोको परेर ल्याएका कागज, बट्टा, प्लास्टिक झोला, धुलो कसिंगर, आदि । यस्ता वस्तुहरुलाई जथाभावि र जहाँ पायो त्यही फालेमा फोहोरमैलाका रुपमा रही रहन्छन् । यी फोहोर नै भान्साबाट निस्किने फोहोर हुन् । यसलाई राम्रोसँग ब्यवस्थापन गर्नु पर्दछ । यसै गरी घरबाट निस्किने अन्य फोहोरहरुमा भान्साबाटबाहेक अन्य ठाउँहरुबाट पनि काम नलाग्ने फाल्तु वस्तुहरु निस्किन्छन् । चिरिएका वा फाटेका लुगा कपडा, विभिन्न प्रकारका कागजहरु, सिसाकलमका टुक्रा काटेका भुस, धुलो, बट्टा, सिसीहरु, माकुराको जालो र अन्य वस्तुहरु आदि घरबाट निस्केका फाल्तु वस्तुहरुलाई घरबाट निस्केका फोहोर भनिन्छ ।

विभिन्न प्रकारका वोटविरुवा, झारपात माटो, इट्टा, ढुङ्गा, रोडा, काठका टुक्रा, छारोधुलो, बालुवा, मरेका विभिन्न प्रकारका पशुपंक्षीका अवशेष छाला हड्डी, बङ्गारा, आदी घरबाहिरबाट निस्किने फाल्तु वस्तुलाई नै घरबाहिबाट निस्कने वस्तु नै फोहोर हुन् । अन्य क्षेत्रबाट पनि फोहोर निस्कने गर्दछ । जस्तै विद्यालयहरूबाट निस्किने फोहोर वस्तुहरुमा खास गरेर कागजका विभिन्न प्रकारका टुक्रा, चक, सिसाकलमको धुलो, बिस्कुट, चक्लेट, पाउरोटीलगायत अन्य खाने वस्तु मोरेका वा बेरेका खोलहरु र खाना नास्ता खाएर बचेका खानाका शेष प्लाष्टिक झोला, धुलो माटो, भुँइबाट निस्केको लेउटा आदि । काम नलाग्ने खालका अन्य विभिन्न वस्तुहरु नै विद्यालयहरूबाट निस्किने फोहोर हुन् ।

पानीमा फ्याकेमा फाहोर मैला झन पानीलाई नै दूषित गराई त्यस्तो पानीको प्रयोगबाट सारा प्राणीलाई नै पानीबाट विभिन्न प्रकारका रोगहरु लाग्न सक्दछन् । आजभन्दा केहीवर्ष अगाडि वा पहिले पहिले फोहोरलाई जलाउनु पर्ने काम राम्रो मानिन्थ्यो । तर आजभोलि फोहोरमैला र प्लास्टिक जलाउनुले वायुमण्डलमा कार्बोनको मात्रा अत्यधिक भएर वातावरण नै दूषित बनाई ब्रह्माण्ड दूषित भई सबै जीवित प्राणीलाई हानि नोक्सानी पुराउने वैज्ञानिकहरुले बताएका छन् ।
प्राणी जगतलाई नै असर र नोक्सानी पुराउने फोहोरमैलालाई व्यवस्थापन गर्न सबै पक्ष समयमा जागरूक हुनु जरूरी छ । फोहोरमैलालाई व्यवस्थापन गर्न धेरै उपायहरु छन् । फोहरमैला व्यवस्थापन गर्दा हुने समस्यालाई समाधान गर्न सबै मानिसहरु सचेत हुन अति जरुरी छ । केही फोहर वस्तुलाई पुनः त्यसैलाई प्रयोग गर्न सक्नु पर्दछ । हर्लिक्सका बट्टा, सिसीहरु, मसला, घिउ, तेल, दाल,बेसार विभिन्न प्रकारका बिउ आदि राख्न प्रयोग गर्नु वा तिनको बट्टाहरुलाई कलम, काँइयो, बुरूसलगायतका सामान राख्ने भाँडाका रुपमा प्रयोग गर्नु वा अन्य सामानहरु राख्ने बनाउन सक्नु पनि पुनः प्रयोगका उदाहरणहरू हुन् ।

जैविक वस्तुलाई जम्मा गरेर लाभदायक कम्पोष्ट मल बनाउन सकिन्छ । कागज, प्लाष्टिक, सिसा, फलाम र अन्य एलमोनियमका भाँडा वस्तुहरुलाई घोलेर पगालेर कारखानाहरुमा नयाँ वस्तु बनाउन सकिन्छ । कतिपय वस्तुहरु अलग अलग ठाउँहरुमा जम्मा गर्न सकेमा ती वस्तुहरु कवाडीले तौलका आधारमा वा एकमुष्ट रुपैयाँ दिई लैजान्छन् र फोहोर सदुपयोग हुन्छ जसले गर्दा फोहोरलाई मोहरमा परिणत गर्न सकिन्छ ।
फोहोर व्यवस्थापन ऐन, २०७४ ले फोहरमैला व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहलाई दिएको कारण यसप्रति स्थानीय तह बढी जिम्मेवार हुन जरुरी छ । फोहोर मैला व्यवस्थापन गर्नका लागि जनतामा सचेतना फैलाउनुपर्दछ । सचेत र जिम्मेवार व्यक्तिहरुको योग्यता, क्षमता, सिप, ज्ञान, सद्भाव, नियत, इच्छा, शक्ति, दूरदृष्टि, सुसंस्कार, सिद्धान्त, अनुभव, स्वतन्त्र, निस्पक्ष, तटस्थ, इच्छा शक्ति भएका व्यक्तिहरूबाट फोहोरमैलाका लागि सहयोग भएमा मात्र उचित व्यवस्थापन भएर स्वस्थ्य समाजको निर्माण हुनेछ ।

अन्त्यमा फोहोरमैला व्यवस्थापनको जिम्मा कानुनबमोजिम स्थानीय तहकै हो । स्थानीय तह बनेको कारणले दिन प्रतिदिन बस्ती बढ्दै छ र फोहोर पनि बढ्दै छ । आजैदेखि फोहोरप्रति चासो नदिने हो भने यसले भयावह रुप लिने छ र दुर्गन्ध फैलाउने छ । यसरी अबका दिनमा स्थानीयतहलाई फोहोर व्यवस्थापन गर्ने जिम्मा दिनु भन्दा स्थानीय तहले समन्वय र सहजीकरण गर्ने गरी निजी क्षेत्रलाई जिम्मा दिएमा फोहोरमैला समस्याको समाधान हुने छ भन्नेमा विश्वास गर्न सकिछ । (लेखकः बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन्)